काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा भेटिएको भन्दै स्थानीयले खबर गरेका छन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार स्थानीयले मानापाथी हिमालको फेदमा विमान भेटिएको भनेर खबर गरेपछि सुरक्षा टोलीलाई त्यसतर्फ केन्द्रित गरिएको बताए।
‘स्थानीयले खबर गरेपछि हाम्रो पैदल टोलीलाई मानापाथी हिमालतर्फ डाइभर्ट गरेका छौं। हाम्रो टोली घटनास्थल पुगेपछि मात्रै यसको आधिकारिक पुष्टि हुन्छ’ प्रवक्ता सिलवालले भने।
लाङ्टी खोलाको मुहान सुरु भएको ठाउँ नजिक विमान भेटिएको भनेर स्थानीयले खबर गरेका छन्। उक्त ठाउँ नाउलीकोटबाट उत्तर पश्चिमतर्फ पर्छ । कोवाङबाट ३÷४ घण्टाको पैदल दूरीमा पर्छ ।
आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भइरहेको छ। विमानमा २ जर्मन नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।