काठमाडौं- तारा एअरको विमान दुर्घटना भएको आशंका गरिएको स्थल मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले मौसम खुल्ने र पानी पर्ने भइरहेका कारण खोजीमा समस्या भइरहेको बताएका छन्।
विमान दुर्घटना भएको आशंका गरिएको स्थल टिटी लेकतिर जानका लागि प्रस्थान गरेपछि पानी पर्ने र बादल लाग्ने भएका कारण समस्या भइरहेको गौचनले बताए।
उनले आफूहरु अहिले नाउरिकोट पुगेको र नेपाली सेनाको एक टोली गुम्बा भन्ने स्थानमा उत्रेर पैदल आउँदै गरेको जानकारी आएको उनले बताए।
‘बादल लाग्ने, पानी पर्ने अनि खुल्ने भइरहेको छ। अझैसम्म आकाश राम्रोसँग खुलेको छैन ’ उनले भने ‘आकाश नखुलेसम्म उद्दारका लागि हेलिकोप्टर जान सक्दैन। हामी प्रहरीसहितको टोली स्थलमार्गबाट अघि बढिरहेका छौं।’ बिहानै देखि नेपाली सेना र नीजि कम्पनीको हेलिकोप्टरले उक्त स्थानमा जाने प्रयास गरेको भए पनि सम्भव नभएको उनले बताए।
दुर्घटनाको आशंका गरिएको स्थान निकै टाढा भएकाले प्रमुख जिल्ला अधिकारीले नेत्रप्रसाद शर्माले स्थलमार्गबाट टोली प्रस्थान गरेको र उक्त स्थानमा पुग्न ५–६ घन्टा पैदलयात्रा लाग्ने अनुमान गरिएको बताए। ‘प्रतिकुल मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन। तयारी अवस्थामा रहेका छौं ’ उनले भने ‘उक्त स्थानमा प्रहरी पुगेपछि थप सूचना आउने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।