काठमाडौं– पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान खोजीका लागि पोखराबाट एमआई–१७ हेलिकोप्टरामर्फत् नेपाली सेनाको टोली लेतेतर्फ गएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार अहिले भर्खर मौसममा केही सुधार आएकाले २० जनाको रेस्क्युसहितको टोली पोखराबाट सम्भावित दुर्घटनाग्रस्त क्षेत्रतर्फ गएको छ।
दुर्घटनाको जानकारी आउनासाथ मुस्ताङको घाँसाबाट ६२ जनाको नेपाली सेनाको टोली पैदल नै खोजी कार्यमा निस्केको थियो। तर, अहिलेसम्म पैदल टोलीले पनि लोकट गर्न नसकेको सहायक रथी सिलवालले बताए।
आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भइरहेको छ। विमानमा २ जर्मन नागरिक, चार भारतीय, १३ नेपाली यात्रु सवार थिए। चालक दलका तीन सदस्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।