काठमाडौं- मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले तारा एअरको विमान दुर्घटना भएको आशंका भएको स्थानमा आफूहरु जाँदै गरेको बताएका छन्।
थासाङको टिटि भन्ने स्थानमा दुर्घटना भएको आवाज सुनिएको र अपुष्ट खबर आएकाले आफूहरु उक्त स्थानमा जान लागेको उनले बताए।
विमान खोजीका लागि पुगेको हेलिकोप्टरसमेत खराब मौसमका कारण दुर्घटना आशंका गरिएको स्थानमा पुग्न नसकेर फर्किएकाले अब पैदाल मार्गबाट आफूहरु जान लागेको उनले बताए।
‘अहिले उक्त क्षेत्रमा पानी पर्नुका साथै बाक्लो हुस्सु रहेको र टेलिफोन सम्पर्क हुन सकिरहेको छैन’, उनले भने,‘इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली प्रस्थान गरेका छौं।’
स्थानीयहरुले धुँवा देखिएको र ठूलो आवाज आएको खबर गरेको भए पनि थप जानकारी पाउन नसकेको उनले बताए।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।