काठमाडौं– स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाल धनगढी उपमहानगरपालिका प्रमुखमा विजयी भए। १९ वडा रहेको उपमहानगरमा ९७ जना निर्वाचित भए। जसमा नेपाली कांग्रेसबाट ५८, नेकपा एमाले ३२, नेकपा माओवादी केन्द्रबाट ६ र स्वतन्त्रले १ सदस्यमा जित हासिल गरे।
मेयरमा स्वतन्त्रबाट हमालले २६ हजार ८६५ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका नृप बहादुर वडले १४ हजार ८१७ मत पाए। त्यस्तै उपमेयरमा एमालेकी कुन्दुकला कुमारी रानाले १५ हजार ४७९ मत ल्याउँदा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत पाइन्।
मतपरिणाम अनुसार घनगढीमा नगर कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको छ। धनगढीमा २९ सदस्यको नगरकार्यपालिका बन्ने छ। जसमा १ मेयर, १ उपमेयर, १९ वटा वडाका अध्यक्ष, ५ जना निर्वाचित महिला सदस्य र ३ दलित तथा अल्पसंख्यक चयन हुने छन्। दलित महिला सदस्य निर्वाचित नभएको खण्डमा सो नगरको मतदाता रहेका दलित महिला सदस्य चयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। उपमहानगरमा कांग्रेसले ११, एमालेले ६ र २ वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ।
कुन वडामा क-कसले जिते?
वडा नम्बर १ मा अध्यक्षसहित दुई खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यसहित पाँच सदस्यमा नेपाली कांग्रेस विजयी भएको छ। त्यस्तै वडा २,३,४,५,९, १३,१४,१५, १७ र १९ मा कांग्रेसले प्यानल जितेको छ।
वडा नम्बर ६ र १६ को वडा अध्यक्षसहित माओवादी केन्द्रले जितेको छ।
७ नम्बर वडामा अध्यक्षसहित चार सदस्य नेकपा एमालेले जित्दा एक सदस्य कांग्रेसले जितेको छ। वडा नम्बर ८, १०, ११,१२ र १८ मा एमालेले अध्यक्षसहित बहुमत सदस्य जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।