काठमाडौं– प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ। प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज लगाइए पनि डिआइजी सिलवाल आफूले बुझाएको राजीनामाको टुंगो नलाग्दै शुक्रबार एमालेमा प्रवेश गरेका छन्।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख एसपी गोविन्द थपलियाले बहालवाला प्रहरी अधिकारीले संगठनमै रहँदा राजनीतिक क्रियाकलाप गरेमा आचरणविरुद्धको कारबाही हुने बताए। उनले डिआइजी सिलवालको राजीनामा स्वीकृत÷अस्वीकृत के भएको हो, त्यसबारे भने आफूलाई कुनै जानकारी नभएको बताए।
‘बहालवाला प्रहरी राजनीतिक गतीविधिमा लाग्न बन्देज छ, आचरणविरुद्धको कारबाही हुन्छ, उहाँको राजीनामा स्वीकृतको विषयमा कारबाही भइरहेको छ,’ थपलियाले भने।
पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि सिलवालमाथि आरचरविरुद्धको कारबाही हुनुपर्ने बताए। ‘सरकारी कर्मचारी, त्यसमा पनि सुरक्षा निकायजस्तो संवेदनशील निकायको जिम्मेवार अधिकारी राजीनामा टुंगो नलाग्दै कुनै पार्टी प्रवेश गर्नु आचरणविरुद्धको गतिविधि हो,’ उनले भने, ‘प्रहरी संगठन र गृहमन्त्रालयले उनीमाथि प्रहरीसम्बद्ध ऐन र नियमावली अनुरुप कारबाही गर्नुपर्छ। नत्र आगामी दिनमा प्रहरी संगठनको चेन अफ कमान्ड खण्डित हुनेछ।’
उच्च प्रहरी स्रोतका अनुसार आवश्यक पर्दा सिलवालमाथि कीर्ते मुद्दा चलाउनका लागि उनको राजीनामा थाँती राखिएको हो। ‘तर, अहिले गृहमन्त्री जनार्दन शर्माको पार्टी माओवादी केन्द्र नै एमालेसँगै एकता प्रक्रियामा गएपछि एमाले नै प्रवेश गरेका सिलवालमाथि के कारबाही होला र?’ गृहका एक सह–सचिवले भने।
सर्वोच्च अदालतमा उनले दिएको रिट निवेदन भदौ २७ मा पूर्ण इजलासले खारेज गरेपछि भदौ २८ मा प्रहरी सेवाबाट राजीनामा दिएको पत्र सिलवालले प्रहरी प्रधान कार्यालयमा बुझाएका थिए। सरकारले बरियता मिचेर डिआइजी जयबहादुर चन्दलाई आइजिपी सिफारिस गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए। यसबीच रिट दायर गर्नेक्रममा उनले सर्वोच्चमा पेश गरेको कागजात कीर्ते भएको भन्दै गृह र प्रहरी प्रशासनले कारबाहीको तयारी अगाडि बढाएका थिए। त्यसैका लागि उनको राजीनामा स्वीकृत नगरी थाँती राखिएको थियो।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले डिआइजी सिलवालले बुझाएको राजीनामा पत्रको कागजी प्रक्रिया प्रहरी प्रधान कार्यालयमा भइरहेको शुक्रबार बताए। उनले यसअघि राजीनामा गृह मन्त्रालयमा पठाइसकिएको बताउँदै आएका थिए। यस्तै, गृह प्रवक्ता रामकृष्ण सुवेदीले राजीनामाको विषयमा गृहकै मानवस्रोत व्यवस्थापन महाशाखालाई जानकारी हुने बताउँदै आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए।
गृह मन्त्रालयको मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलले डिआइजी सिलवालको राजीनामा पत्र आफ्नो टेबलसम्म आइनपुगेको बताउँदै आएका छन्। उनले बिहीबार नेपाल लाइभलाई भनेका थिए, ‘डिआइजी सिलवालको राजीनामाका विषयमा मलाई कुनै जानकारी नै छैन, पत्र मेरो टेबलमा आएकै छैन।’
२०७३ फागुन १ गते डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च गएका सिलवालको रिट निवेदनको सुनवाइ गर्दै फागुन ८ मा जयबहादुर चन्दको बढुवा बदर गरिएको थियो। सरकारले चैत २९ मा डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सिलवाल दोस्रो रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए।
सर्वोच्च अदालतले पहिलो रिट निवेदनको सुनवाइका क्रममा मगाएको कार्य सम्पादन मूल्यांकनमा कीर्ते गरेको आशंकामा वैशाख ११ मा सिलवाल पक्राउसमेत परेका थिए। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले पनि राजीनामा स्वीकृत नहुँदै कुनै राष्ट्रसेवक राजनीतिक दलमा प्रवेश गर्न नमिल्ने बताए। सिलवालमाथि प्रहरीले ऐन, कानुन अनुरुप विभागीय कारबाही अघि बढाउनसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।