राजनीतिमा तपाईंले हस्तक्षेप गर्न सक्नु भएन भने राजनीतिले तपाईंको जीवनलाई हस्तक्षेप गर्छ। यो अन्तरालमा मेरो जिन्दगीमाथि धेरै ठूलो राजनीतिक हस्तक्षेप भयो।
राजनीतिमा आउनका लागि प्रशिक्षित भएको मान्छे म थिइनँ। एउटा महत्वपूर्ण जिम्मेवारी भएको संस्थामा महत्वपूर्ण योगदान दिएर मुलुकप्रति जीवन समर्पित गरेको सिपाही हुँ। हिजोसम्म म सिपाही थिएँ, राजनीतिले यस्तो परिस्थिति सिर्जना गरिदियो राजनीति नअँगाल्ने हो भने मेरो अस्तित्वमाथि प्रश्न चिह्न खडा हुने भयो। म मेरो अस्तित्व जोगाउनका लागि राजनीतिमा आएको हुँ।
मुलुकका लागि मैले हिजो दिएको योगदानलाई आत्मसात् गर्दै मेरो मिहिनेत प्रयोगका लागि मैले अब मञ्च परिवर्तन गरेको छु। राजनीतिमा प्रवेश गरेपछि मेरो उत्साह, उमंग र मुलुकप्रतिको समर्पण कदापि कम हुनेछैन, अब झन् बढ्नेछ।
एउटा सभ्य समाजमा राज्य भनेको अभिभावक हो। राज्यले आफ्नो नागरिकमाथि कानुन अनुसार बराबरको व्यवहार गर्नुपर्छ। ममाथि कानुन अनुसारको समान व्यवहार भएन। मलाई धेरैले सोधे, किन तपाईं राज्यका विरुद्ध अदालत जानुभयो? संविधानले भनेको छ, अन्यायमा परियो भने अदालत जाऊ। मैले न्याय माग्न जानु अन्याय होइन प्रजातन्त्रको सुन्दरता हो। मैले आफूलाई परेको अन्याय सहेर बस्नु पनि अपराध हो, त्यसैले म अदालत गएको हुँ।
यो देशमा अन्याय सहने धेरै होलान्। मैले दर्शन बुझेको छु, समाज बुझेकोछु, अर्थतन्त्र बुझेको छु, राजनीति बुझेको छु। अन्यायमा परेका नागरिकको प्रतिनिधि पात्रका रुपमा म उभिएको हुँ। ती पीडितहरुको सहायताका लागि म आज नेकपा एमालेको ब्यानरमा उभिएको छु। म यही मञ्चबाट पीडितमा परेका र अन्याय खेपेकाहरुलाई सँगै मिलेर एमालेको आदर्शमुनि बसेर आवाज उठाउन आग्रह गर्छु र एमालेमा गोलबन्ध हुन अनुरोध गर्छु।
एमालेको आदर्श, सोच र मुलुकलाई दिएको योगदानका कारण म एमालेका आएको हुँ। मुलुकका लागि योगदान गर्न चाहने, मुलुकलाई समृद्धिको बाटोमा लान चाहने व्यक्तिहरुलाई एमालेले प्रसस्त अवसर र मौका दिएको छ। अरु पार्टी आवरणमा प्रजातान्त्रिक छन् तर व्यवहारमा अप्रजातान्त्रिक। यो पार्टीले मात्रै समाजवादलाई स्थापित गर्न सक्छ र हाम्रो जीवन पद्दतिलाई परिवर्तन गर्न सक्छ, त्यसैले म यो पार्टीमा आएको हुँ।
मान्छेले जीवनको उतरार्धमा तीनवटा कुरा आफूसँगै सोध्छ। के म बाँचे, के मैले मेरो जिन्दगीलाई माया गरेँ र म बाँच्नुको के अर्थ भयो? यी तीनवटै प्रश्नको जवाफ खोज्ने सिलसिलामा मैले नेकपा एमाले मात्र विकल्प देखेँ।
एमालेमा गौरव छ, सम्भावना छ, भविष्य पनि छ। मैले राजनीतिका लागि मञ्च पाएको छु। आउँदा दिनमा म तपाईंहरुलाई मेरो घटनाबाट राम्रो काममा अग्रसर हुन, अन्यायमा लड्न र मुलुकको समृद्धिमा अग्रसर हुन प्रेरित गर्छु। यो मुलुकको समृद्धिका लागि हामी सबै सँगै अघि बढ्नुपर्छ। नेकपा एमाले मात्रै एउटा यस्तो पार्टी हो, जसले मुलकलाई समृद्धिको बाटोमा अघि बढाउन सक्छ।
हेर्नोस् भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।