काठमाडौं– उमंग क्रिएशन प्रालिद्वारा आयोजित सन् २०२२ (२०७९) सालका लागि ‘ओरिफ्लेम मिस युनिभर्स नेपाल’को आधिकारिक घोषणा गरिएको छ।
विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रान्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता हो। राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा यो प्रतियोगिता हुन लागेको छ।
ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ (एमयूएन २०२२) समावेशिता र अवसरको जगमा उभिएर यस सौन्दर्य प्रतियोगिताको विरासत कायम राख्ने लक्ष्यमा अग्रसर छ।
पछिल्ला दुई वर्षहरूमा जस्तै, एमयूएन २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि ढोका खुल्ला राखिएको छ।
ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज पहिरिने आकांक्षा राखेर आफ्नो देशलाई ७१औँ मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्नेछन्। यस एप गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ।
दर्ता अवधि मे ५ देखि दुई महिना सम्मको लागि खुला रहने छ। प्रतियोगितामा सुजिता बस्नेत (मिस युनिभर्स २०२१), नगमा श्रेष्ठ (राष्ट्रिय निर्देशक, मिस युनिभर्स नेपाल र मिस युनिभर्स नेपाल २०१७), उद्धव अधिकारी (प्रबन्ध निर्देशक उमंग क्रिएशन) र राजन कुमार झा (उपाध्यक्ष, एडभान्स ग्रुप अफ कम्पनीज) निर्णायकका रुपमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।