दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ तिंकरका स्थानीयवासी आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन्। छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन्। तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलंगामै छ।
व्यासीका सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला छ महिनापछि खुल्न थालेको छ।
'पाँच परिवार तिंकर पुगिसकेका छन्', स्थानीयवासी दानसिंह तिंकरील भने, '३५ परिवार खलंगाबाट मंगलबार हिँडेका छन्, उनीहरु बाटोमा छन्।' सदरमुकाम खलंगाबाट पाँचदेखि छ दिनमा तिंकर गाउँ पुगिन्छ।
भारतीय प्रशासनको अनुमति लिएर स्थानीयवासी हिमाल उक्लिएका हुन्। खलंगाबाट पहिलो दिन दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुँदी, पाँचौँ दिन छाङ्गरु र छैठौँ दिन तिंकर पुगिन्छ।
पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ। स्थानीयवासी अहिले पाँच/छ घण्टामै गाडीमा गाउँ पुग्छन्। भारतीय प्रशासनले अनुमति दिन ढिलाइ गर्दा यो पटक बसाइँसराइ केही ढिलो भएको स्थानीयवासी बताउँछन्। गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ। साथै जेठमा यार्सागुम्बा संकलनको काम हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन्।
तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो। तिंकर गाउँभन्दा आधा घण्टामाथि नेपाल प्रहरी बस्छ। छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ छ।
स्थानीयवासी छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बस्छन्। यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्छ। स्थानीयवासीको बसाइँ सरेसँगै खलंगा झरेका नेपाल प्रहरी स्थानीयवासी गाउँ पुग्दा पनि सदरमुकाम खलंगाबाट माथि उक्लिन सकेको छैन।
निर्वाचनका लागि मतदान केन्द्र पनि तिंकरमै तोकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट हेलिकोप्टरमार्फत प्रहरी तिंकर पठाउने तयारी भएको बताउँछन्। 'हामीले प्रक्रिया बढाइसकेका छौँ', उनले भने, 'तर अझै हेलिकोप्टर कहिले आउँछ भन्ने यकीन भएको छैन।'
प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकोप्टर माग गरिएको डीएसपी विष्ट बताउँछन्। विगतमा पनि हेलिकोप्टरमार्फत पठाउने गरिएको छ। प्रहरीलाई वैशाख २७ गतेअगावै पठाउने गरी पहल भइरहेको छ। छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरि बस्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।