काठमाडौं– नेपाली कांग्रेसले पार्टी आवद्ध भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूको अधिवेशन/महाधिवेशन तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण भ्रातृ संघहरू, शुभेच्छुक संस्थाहरू लगायत विदेशस्थित जनसम्पर्क समितिहरू समेत क्रियाशील रहेकाले हाललाई पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न भनिएको छ।
पूर्वनिर्धारित अधिवेशन/महाधिवेशन स्थानीय तहको निर्वाचनको मिति आसपास गर्न सान्दर्भिक र सम्भव नदेखिएकोले स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशन/महाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्न भनिएको छ।
'साथै, स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन पनि यसै विज्ञप्तिमार्फत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशानुसार अनुरोध गरिन्छ'. कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।