काठमाडौं- स्थानीय तहको निर्वाचनको विषयलाई लिएर मतभेद देखिएको नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट नेताहरूको राष्ट्रिय भेला चितवनमा सुरु भएको छ।
विप्लवले कारबाही गरेका नेता धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वलीसहितका नेताहरुको भेला आजदेखि सुरु भएको हो।
केन्द्रीय सदस्य गुणराज लोहनीले चितवनमा भेला सुरु भएको नेपाल लाइभलाई जानकारी दिए। उनका अनुसार तीनदिनसम्म चल्ने भेलाले आगामी रणनीति तय गर्नेछ।
‘केन्द्रीय समिति बैठकले चुनावमा नजाने निर्णय गरेको थियो। अहिले के कसरी निर्णय विपरित काम भयो त्यसको विषयमा भेलामा समीक्षा हुन्छ,’उनले भने, ‘नेतृत्वलाई हामीले केन्द्रीय समिति बैठक बोलाउन भनेका थियौं। त्यसको सुनुवाइ नभइ तपाईंहरु जे गर्नुहुन्छ गर्नुस् भनेपछि भेला बोलाइएको हो।’
उनले नेतृत्वले अझै पनि केन्द्रीय कमिटी बैठक वा महाधिवेशन आह्वान गर्ने सम्भावना नदेखिएको भन्दै नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने विषयमा नै भेलाको निष्कर्ष हुन सक्ने बताए। उनले भेलामा पछिल्लो राजनीतिक घटनाक्रमसमेत समेटेर दस्तावेज पेस हुने जानकारी दिए।
‘फेरि पनि एकपटक हाम्रो जोड एकताको लागि प्रयास गर्ने नै हुन्छ,’उनले भने,‘तर, नेतृत्वले सकारात्मकता देखाएको देखिएन।’
पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै विप्लवले १४ वैशाखमा दुई नेतालाई पार्टीबाटै निष्कासन गरेपछि विभाजन लगभग निश्चित नै भइसकेको थियो।
चुनावको कुराले विप्लवहरु धेरै टाढा पुगेको र केन्द्रीय समिति बोलाएर छलफल गर्ने प्रस्ताव पनि अस्वीकार गरेको लोहनीले बताए।
गत चैत दोस्रो साताबाट कपिलवस्तुको शिवगढीमा सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए। तर उनको प्रस्ताव अल्पमतमा परेको थियो।
विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो। त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए।
चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिष्कार पनि नगर्ने तथा जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने निर्णय बैठकबाट भएको थियो। तर, विप्लव र प्रकाण्डले काठमाडौंमा आएर पार्टी दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चर्किएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।