काठमाडौं– नेकपा एमाले अछामले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका सहित १४ जनालाई पार्टीबाट निष्काशन गरेको छ।
सचिव भीमबहादुर रावलले एक विज्ञप्ति जारी गर्दै १४ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका छन्। ‘पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्धमा उम्मेदवारी दिएको र धेरै सम्झाई बुझाई गर्दा पनि अटेरी गरेर पार्टी अनुशासन उल्लंघन गरेपछि कारबाही गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
निष्काशित हुनेमा वडा नम्बर ६ का मीनबहादुर बोहोरा, वडा सदस्य पदमा उम्मेदवारी दिएका खडकराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वाँर, वडा नम्बर १ को सदस्यमा उम्मेदवारी दिनेहरू पूर्णकुमार शाह, मय नेपाली रहेका छन्।
उनीहरुलाई पार्टी विधान, २०४९ को धारा ८० को (६) अनुसार निष्काशित गरिएको हो। त्यस्तै पार्टीको जनसंगठन र कमिटीमा रहेर विपक्षी दलको उम्मेदवार भएका र पार्टीहित विपरीत काम गरेको भन्दै जिल्ला कमिटी सदस्य दिपक कुँवर, हर्क विरही विक, जिल्ला सल्लाहाकार सदस्य बलबहादुर रावल, बद्रीप्रसाद धमाला, मंगलसेन नगर कमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका ५ वडा कमिटी अध्यक्ष केशव तिमिल्सेना, साफेबगर ९ का अध्यक्ष ध्रुव थापालाई पनि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ।
सचिव रावलले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रचार प्रसार गर्ने र मतदिने कार्यमा पार्टीको कुनै सदस्य संलग्न रहेको पाइएमा निजहरुलाई पनि विधान अनुसार कारबाही हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।