भतरपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी।
काठमाडौं- सत्ता गठबन्धन आबद्ध दलहरुको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रतिबद्धतापत्र सार्वजनिक भएको छ। लोकतान्त्रिक-वाम गठबन्धनको भरतपुर महानगर समितिले मंगलबार प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।
'विगतको गठबन्धनको गौरवपूर्ण ५ आधार! वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार!!' नारा दिइएको प्रतिबद्धतापत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी कामलाई पूर्णता दिइने बताइएको छ। त्यस्तै, तीव्र गतिमा निर्माण भइरहेको सिटी हललाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
'नारायणगढ र भरतपुरका चोकहरुमा ट्राफिक लाइट आर्टिफिसियल इन्टिलिजेन्स ट्राफिक लाइटको व्यवस्था गर्नेछौँ', प्रतिबद्धतापत्रमा भनिएको छ, 'सहिद चोक, हाकिम चोक र मालपोत चोकमा आकाशे पुल निर्माण गर्नेछौँ। महानगरभित्र आवश्यक स्थानहरुमा फ्लाइओभर र अन्डरपास सम्भाव्यता अध्ययन गरिनेछ।'
त्यस्तै, 'एक टोल, एक रङ र एक डिजाइन' कार्यक्रम टोल विकास समितिमार्फत कार्यान्वयनमा ल्याइने बताइएको छ। प्रौढहरुलाई घरमै स्वास्थ्य सेवा/विशेष भत्ता र विशेष संरक्षणको ग्यारेन्टी गरिने उल्लेख छ।
एक शिक्षक एक ल्यापटप कार्यक्रम अघि बढाउने भनिएको छ। 'महानगरमा एक सुविधानसम्मन्न पुस्तकालय र ई-पुस्तकालय स्थापना गर्नेछौँ। ५५ वर्ष उमेर पुगेका शिक्षकले स्वेच्छिक अवकाश लिएमा आकर्षक प्रोत्साहन सुविधाको व्यवस्था गर्नेछौँ', घोषणापत्रमा भनिएको छ।
भरतपुरलाई मेडिकल सिटीको औपचारिक घोषणा गरी प्रभावकारी मेडिकल बोर्ड गठन गर्न आवश्यक नीतिगत र व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ।
त्यस्तै, भरतपुर भ्रमण वर्ष घोषणा गरी निजी क्षेत्रसँग सहकार्य गरी पर्यटन प्रबर्द्धन गर्ने, कृषि आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान दिइने तथा कृषि र अर्गानिक उत्पादनमा मूल्यसहित 'मेड इन भरतपुर' को ब्रान्डिङ गर्ने भनिएको छ।
भरतपुर महानगरपालिकाभित्र सार्वजनिक इलेक्ट्रिक बस सञ्चालनको प्रक्रिया सुरु गरिने भनिएको छ। त्यस्तै, अपांगता भएका तथा ७० वर्षभन्दा उमेर नाघेका नागरिक तथा महिलालाई निःशुल्क बससेवा र विद्यार्थीका लागि यातायातमा ५० प्रतिशत छुट दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिबद्धतापत्रको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।