सुनसरी– पूर्वको उदाउँदो सहरको रुपमा देखापरेको इटहरी उपमहानगरपालिमा चुनावी सरगर्मी बढेको छ। तराईकाे गर्मीजस्तै इटहरीमा निर्वाचनको माहोल पनि दिनदिनै चर्को बनिरहेको छ।
सुनसरीका दुई उपमहानगरमध्ये धरान र इटहरी दुवै वाम झुकाव भएको क्षेत्र हो। खासगरी इटहरी एमालेले हरेक निर्वाचनमा जित हात पार्दै आएको क्षेत्र हो। यसपटक उक्त क्षेत्रमा जितको झण्डा फहराउन सत्ता गठबन्धनले आफ्नो शक्ति केन्द्रित गरिरहेको छ। त्यसैले निर्वाचन झन् रोचक हुने देखिएको छ।
इटहरीमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन र एमालेबीच कडा टक्कर हुने अनुमान गरिएको छ। यहाँ तीन दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल मेयरका उम्मदेवार छन्। उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार विष्ट छन्। उनीहरूलाई चुनौती दिन एमालेका तर्फबाट मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी मैदानमा छन्।
त्यस्तै, तेस्रो शक्तिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ। जसले मेयरमा पूर्वअञ्चल प्रशासक भएका राप्रपा नेता रामकुमार सुब्बाका छोरा आकाशहाङलाई अघि सारेको छ। उपमेयरममा बबिताकुमारी चौधरी छन्। राप्रपाका नेता सुब्बाको इटहरीमा प्रभाव भएकाले उनले कांग्रेस र कम्युनिस्टको भोट काट्ने अनुमान गरिएको छ।
कांग्रेस जितको इतिहास बनाउन अग्रसर, एमाले विरासत जोगाउने कसरतमा
२०७४ सालको निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी मेयरमा र उपमेयरमा एमालेकै लक्ष्मी गौतम विजयी भएका थिए। चौधरीले २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएकी थिइन्।
उक्त समयमा नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएका थिए। अहिले एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पनि आफ्नो संगठन विस्तार गरेकाले सत्ता गठबन्धन सहज अवस्थामा रहेको उनीहरूको दाबी छ। तर, नेकपा एमालेले भने आफूहरू विगतभन्दा झन् राम्रो संगठन र अवस्थामा रहेको दाबी गरेको छ।
२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा जितेको थियो। वडा नम्बर २, ४, ५, ९, १८, १९, १३ र १४ मा एमालेले जितेको थियो। नेपाली कांग्रेसले १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० नम्बर वडामा जितेको थियो। त्यो बेला लोकतान्त्रिक फोरम नेपालका तर्फबाट वडा नम्बर १० मा जितेका वडाअध्यक्ष कांग्रेसमा समायोजन भएका थिए। इटहरीमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले एक जना मात्र जनप्रतिनिधि जितेको थियो।
इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नम्बर ७ मा भने नेपाली कांग्रेसले जितेको थियो।
मतदाताको अवस्था
२०७४ सालमा इटहरीमा खसेको मतमध्ये ५२ हजार पाँच सय २२ मत सदर भएको थियो। आगामी स्थानीय तहका लागि मतदाता संख्या एक लाख चार हजार ६२६ पुगेको निर्वाचन आयोगले जनाएको छ। यहाँ २०७४ सालको निर्वाचनमा ७७ हजार ६७७ जना मतदाता रहेका थिए। यसपटक २३ हजार मतदाता थपिएका छन्। यी मतदाता निर्णायक हुन सक्ने देखिन्छ।
के भन्छन् उम्मेदवार?
गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका हेमकर्ण पौडेलले यसपटक आफूहरूले जित्ने अवस्था बन्दै गएको दाबी गरे। विगतमा भन्दा यसपटक आफूहरू बलियो भएको र २०७४ सालमा एमालेले नगरमा काम नगरेका कारण यसपटक जनताले आफूहरूलाई जिताउने उनको विश्वास छ।
‘अहिले नै हामी जित निश्चित भएको त भन्दैनौं। तर, लगभग हामी विजयी हुने अवस्थामा पुगेका छौं’, पौडेलले भने, ‘२०७४ सालमा जनताले जसरी विश्वास गरे त्यसमा धोका भयो। इटहरीको व्यवस्थित विकासभन्दा जनप्रतिनिधि अन्यत्रै लागेको जनताले थाहा पाएका छन्। यसपटक हामीले विगतका गल्तीहरू पनि सच्चाएर योजनावद्ध इटहरी शहर विकासको योजनालाई पनि अघि सारेका छौं। जनता उत्साही भएको पाएको छु।’
तर, नेकपा एमालेका तर्फबाट मेयर पदका प्रतिस्पर्धी यामुकुमार सुब्बाले आफूहरू एक्लै पर्याप्त रहेको बताए। उनले यो क्षेत्र विगतदेखि नै वामझुकाव भएको क्षेत्र भएकाले जतिसुकै गठबन्धन बनाएपनि जित सहज नहुने टिप्पणी गरे। उनले २०७४ सालको निर्वाचनमा नगरले धेरै राम्रा कामहरूको सुरुवात गरेको र अब त्यसलाई निरन्तरता दिन पनि आफ्नो नेतृत्व आवश्यक हुने उनले बताए। इटहरीका जनताले आफूलाई छान्नेमा ढुक्क रहेको सुब्बा बताउँछन्।
राप्रपाको दुवैलाई डर
यो क्षेत्रमा तेस्रो शक्तिको रुमपा राप्रपा रहेको छ। राप्रपाले २०७४ सालको निर्वाचनमा पनि नेकपा एमाले, नेपाली कांग्रेसपछिको मत पाएको र यसपटक पुराना नेता एवं पूर्वमन्त्रीकै छोरा निर्वाचनमा होमिएका कारण केही मत दुवै तर्फको काट्ने देखिएको छ।
राप्रपाले एकल रुपमा जित हात पार्न नसकेपनि कुनै उम्मेदवारलाई हराउनका लागि भने भूमिका खेल्ने देखिन्छ। राप्रपाले जुन पक्षको बढी मत आफूतिर तान्छ त्यो पक्ष पराजित हुनसक्ने विश्लेषण गरिएको छ।
२०७४ मा राप्रपाबाट उठेका रोहितबहादुर कार्कीले ३ हजार ७१५ मत पाएका थिए। अहिले सुब्बाले त्यसको दोब्बर भन्दा धेरै मत ल्याउने आकलन गरिएको छ। राप्रपाले जति धेरै मत ल्यायो, नेकपा एमाले र सत्ता गठबन्धनका बीचमा प्रतिस्पर्धा उति नजिकको हुने देखिन्छ। यस्तो अवस्थामा झिनो मतान्तरले जुनसुकै पार्टीले नतिजा आफ्नो पक्षमा पार्न सक्ने दुवै पक्षका उम्मेदवारले स्वीकारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।