काठमाडौं–निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेहरुको उम्मेदवारी रद्ध गर्ने चेतावनी दिएको छ। आचारसंहिता पालनामा दलहरु गम्भीर नभएको ठहर गर्दै आयोगले यस्तो चेतावनी दिएको हो।
अनुगमनमा क्रममा जथाभावी पोष्टर टाँसेको, झन्डा राखेको र भित्तेलेखन गरिएको पाइएको आयोगको भनाइ छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लंघन गर्नेलाई एक लाखसम्म रुपैयाँसम्म जरिवाना हुनसक्ने जनाएका छन्।
‘निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७६ अनुसार सार्वजनिक भवन, उद्यान तथा सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न हुँदैन,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ֯कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र साइनबोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ।’
आचारसंहिता विपरीत कतिपय स्थानमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेको भन्ने आयोगको जानकारीमा आएको विज्ञप्तिमा जनाइएको छ।
‘राजनीतिक दल, उम्मेदवार निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोस्टर, भित्तेलेखन, तुल, ब्यानर, डिजिटल डिस्प्लेजस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ।
त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहका उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ।
त्यस्तै आयोगले यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसमेत चेतावनी दिएको छ।
आचारसंहिताको यो प्रावधानका बारेमा सरोकारवालाहरूलाई स्मरण गराई कारबाहीका लागि आयोगमा सिफारिस गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन पठाईएको आयोगले जनाएको छ।
आयोगले आचारसंहिता विपरीत काम गरेको भन्दै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापित, नेपाली कांग्रेसका नेता शेखर कोइराला र स्थापितको विरोध गर्दै विज्ञप्ति जारी गरेको गैरसरकारी संस्था ओरेकलाई पनि सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।