ललितपुर– नेकपा एमाले ललितपुर महानगर कमिटीले स्थानीय तह सदस्य निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
'सुशासन, समृद्धि र समाजवादको आधार, ललितपुर महानगरपालिकामा एमालेको सरकार' भन्ने नारासहित एमाले ललितपुर महानगर कमिटीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
निःशुल्क फोहोर संकलन, निजी, समुदाय एवं पालिका साझेदारीमा फोहोरबाट मोहोर कार्यक्रम सञ्चालन, फोहोर सेग्रीगेसन नीतिमा कडाइ गर्ने लगायतका विषय समेटिएका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारीदेखि सांस्कृतिक एवं पुरातात्विक क्षेत्रका संरक्षण गर्ने लगायतका थुप्रै विषयलाई एमाले ललितपुर महानगर कमिटीले आफ्नो प्रतिबद्धता पत्रमा समेटेको छ।
निजी, समुदाय एवं पालिकाको सहभागितामा जग्गा तथा बस्ती एकीकरणमार्फत् व्यवस्थित शहरीकरण कार्यक्रम लागू गरिनेछ। जनताको स्वास्थ्य हाम्रो सरोकार अनिवार्य स्वास्थ्य बीमा अभियान महानगर क्षेत्रमा सञ्चालन गरिने उल्लेख छ।
प्रत्येक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकीमार्फत् निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधीलाई प्राथमिकतामा राखिएको छ। भित्री एवं मुख्य सडक क्षेत्रमा बत्तीको व्यवस्था, घनाबस्ती, सुरक्षा जोखिम भएका क्षेत्र एवं मुख्य चोकहरुमा सीसीटीभी र सेक्युरिटी साइरन जडान गरी महानगरमार्फत् निगरानी गरिने विषयलाई समेत समेटिएको छ।
'एकघर एक करेसाबारी बाह्रै महिना हरियो तरकारी' कार्यक्रम पनि सञ्चालन गर्ने उल्लेख छ। विपद् उद्धार तथा राहतका लागि आवश्यक सामग्रीसहितको आपत्तकालीन उद्धार केन्द्र स्थापना गर्ने पनि उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।