रामपुर– पाल्पाको रामपुरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। स्थानीय तहको चुनाव प्रचारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच आइतबार झडप भएको हो।
रामपुर नगरपालिका–१० कुमालटारमा चुनाव प्रचारका क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो। एमाले र कांग्रेसका स्थानीय नेताले विज्ञप्ति जारी गर्दै घटनामा एक–अर्काको दोष रहेको आरोप लगाएका छन्।
एमालेको रामपुर नगर कमिटीका अध्यक्ष विष्णु प्रसाद रेग्मीले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको झण्डा बोकेर आएका १०० देखि १२० जनाको समूहले आफ्नो पार्टीका उम्मेदवार र कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेका छन्।
खुकुरी, भाला लगायतका घरेलु हतियार बोकेर आएका कार्यकर्ताले आफ्नो पार्टीका नगर प्रमुखका उम्मेदवारसहित प्रचारमा रहेका कार्यकर्तामाथि आक्रमण गरेको रेग्मीले दाबी गरेका छन्।

कांग्रेस कार्यकर्ताहरुले चुनाव प्रचारमा प्रयोग गरिएको बस, नगर प्रमुख तथा उपप्रमुखले प्रयोग गर्दै आएको गाडी र मोटरसाइकल तोडफोड गरी क्षति पुर्याएको पनि एमालेले दाबी गरेको छ।
कांग्रेसले भने एमालेबाट रामपुर–१० को वडाध्यक्षका उम्मेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दीप नाथ सारुको नेतृत्वमा ठूलो समूहमा रहेका युवाहरुले आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेको छ।
कांग्रेस रामपुर नगरसमितिका सभापति नेत्र प्रसाद भट्टराई एक विज्ञप्ति जारी गर्दै कांग्रेसका 'असल' कार्यकर्तामाथि हातहतियार प्रयोग गरी सांघातिक आक्रमण भएको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।