दाङ-दाङको घोराही उपमहानगरमा उम्मेदवारका रुपमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा ‘डायमण्ड‘ र एमालेका नरुलाल चौधरी मैदानमा छन्। तर, प्रतिष्पर्धा उनीहरुको मात्रै छैन। प्रतिष्पर्धा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र एमालेका महासचिव शंकर पोखरेलबीच समेत रहेको चर्चा यहाँ भइरहेको छ।
आगामी संसदीय निर्वाचनमा आमने-सामने हुने नेताद्वयको मत सर्वेक्षणका रुपमा समेत उपमहानगरको निर्वाचनलाई हेरिएको छ। त्यसकारण नेताद्वय आफ्ना उम्मेदवार जिताउन मैदानमै उत्रिइसकेका छन्। उनीहरु दुवै गत निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार भएका थिए। बाम गठबन्धनबाट संघीय सांसद बनेका महरा सभामुख भए भने प्रदेश सांसद भएका पोखरेल मुख्यमन्त्री बने। त्यो सहकार्य यसपल्ट शत्रुतामा परिणत हुने निश्चित छ। चुनावअघि नै आफूलाई बलियो देखाउन उनीहरु कुनै कसर बाँकी नराख्ने विश्लेषण हुन थालेको छ।
२०७४ को मत परिणामलाई हेर्ने हो भने गठबन्धनलाई जित निकाल्न कठिन छैन। २०७४ को निर्वाचनमा एमालेका चौधरी २२ हजार ३० ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका भुपबहहादुर डाँगी क्षत्रीले १७ हजार ४ सय ८४ मत ल्याए भने माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याए।
तर चुनावमा अंकगणितले मात्रै अर्थ राख्दैन। बदलिएको परिस्थिति, उम्मेदवार र मतदातामा विकास हुने चेतनाले निर्वाचनपिच्छे परिणाम फेरिँदै जान्छ।
सत्ता गठबन्धनको सम्भावना
नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर चुनाव लडिरहेका कारण गणितीय हिसाबले नै सत्ता गठबन्धन बलियो देखिन्छ। घोराहीलाई नजिकबाट नियालिरहेका पत्रकार तथा विश्लेषक सुशील गौतम गठबन्धनलाई दुवै दृष्टिबाट केलाउनुपर्ने बताउँछन्।
उनले सत्ता गठबन्धनका लागि सकारात्मक पक्ष बुँदागत गरेका छन् :
१. यहाँका केही मतदाता रुकुम र रोल्पाबाट बसाइँ सरेकाहरु छन्। उनीहरु माओवादीका पक्षमा छन्।
२. कांग्रेस र माओवादीको गठबन्धन छ। गत वर्षको मतांकलाई आधार बनाउँदा गठबन्धन नै अगाडि छ।
३. नेपाली कांग्रेसका तर्फबाट २०७४ मा मेयरका प्रत्यासी बनेका भूपबहादुर डाँगीले उपमेयर स्वीकारेका छन् र कांग्रेसको भागमा धेरै वडा परेका छन्।
४. सत्ता गठबन्धनका कारण प्रमुख गुमाउनु परेकोमा कांग्रेस कार्यकर्तामा रहेको असन्तुष्टि यहाँ सतहमै आइपुगेको देखिँदैन।
यसरी हेर्दा गठबन्धनलाई हराउन मुस्किल पर्ने देखिन्छ। तर घोराही गठबन्धनका लागि चुनौतीरहित नभएको गौतम बताउँछन्।
१. देशव्यापी रुपमा गठबन्धनको पक्ष र विपक्षमा कांग्रेसका कार्यकर्ता छन्। त्यसको केही प्रतिविम्ब घोराहीमा पनि छ। केही कार्यकर्ता असन्तुष्ट छन्।
२. यो क्षेत्रलाई द्वन्द्वपिडित क्षेत्र भनिन्छ। त्यसको प्रतिच्छायाँ मतदानमा पर्न सक्ने अनुमान छ। द्वन्द्वमा माओवादीबाट पीडित बनेका कांग्रेसका नेता-कार्यकर्ताले माओवादी केन्द्रका उम्मेदवारलाई मतदान नगर्ने सक्ने अड्कलबाजी छ।
३. नेकपा माओवादी केन्द्रको प्रभाव घट्दो छ। गत निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवारसमेत रहेका दाङ ईञ्चार्ज जीवन गौतमले चुनावको संघारमै पार्टी छाडेका छन्। लामो समय माओवादी प्रवक्ता महराको स्वकीय सचिवका रुपमा काम गरेका प्रमोद शर्मा दुई महिनाअघि मात्रै एमाले प्रवेश गरेका छन्।
४. सत्ता गठबन्धनका सबै दललाई समेट्न नसक्दा माओवादी केन्द्र र कांग्रेसको मात्रै तालमेल भएको छ।
एमालेको अपेक्षा
नेकपा एमालेले चौधरीलाई दोहोर्याएर मैदानमा उतारेको हो। यसअघि पनि मेयरका रुपमा काम गरिसकेका उनी तुलनात्मक रुपमा कम विवादित रहेको विश्लषक गौतम बताउँछन्। भन्छन्, 'थारुहरुको बाहुल्य क्षेत्रमा चौधरी उम्मेदवार छन्। पढेलेखेका मान्छे हुन्। तुलनात्मक रुपमा कम विवादित छन्।'
एमालेले एउटा जित्ने आधार यो हो। अर्को विगतका तुलनामा एमालेले यो क्षेत्रमा आफ्नो संगठनमा सुधार गर्दै लगेको देखिएको उनी बताउँछन्।
मुख्यगरी सत्ता गठबन्धनका माथि उल्लेखित चार चुनौतीको लाभ उठाएर नतिजा आफ्नो हातमा पार्ने प्रयासमा एमाले रहने देखिएको छ।
साझा समस्या एकीकृत समाजवादी
एकीकृत समाजवादी केन्द्रीय निर्णयअनुसार घोराहीको गठबन्धनमा समाहित हुन सकेन। आफूलाई चारवटा वडा मात्रै दिएको भन्दै असन्तुष्ट एकीकृत समाजवादीले मेयर, उपमेयरदेखि विभिन्न वडामा आफ्नै उम्मेदवार उठाएको छ।
केन्द्रीय गठबन्धनबाट निरन्तर भइरहेको निर्देशनलाई तपशिलमा राखेर एकीकृत समाजवादीका लुम्बिनी प्रदेश प्रमुख मेटमणि चौधरी मैदानमा उत्रिएका छन्। प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा शोभा शाहको उम्मेदवारी परेको छ।
एकीकृत समाजवादी गठबन्धन र एमाले दुवैको साझा चुनौतीजस्तो देखिएको छ। एमालेबाटै छुट्टिएका कारण कति मतदाता घटाउन सक्छ भन्ने यकिन छैन। तर चौधरी नै उम्मेदवार भएका कारण जातीय मत विभाजन हुनसक्ने सम्भावना देखिन्छ।
एकीकृत समाजवादी छुट्टै लड्नु गठबन्धनका लागि सिधा हानी हुने विश्लेषक गौतम बताउँछन्। झिनो मतान्तरले हारजित हुने अवस्थामा एकीकृत समाजवादीले काट्ने मतले समस्यामा पार्न सक्ने उनको बुझाइ छ।
नयाँ मतदाता पारिवारिक स्कुलिङकै प्रभावमा रहेको उनी बताउँछन्। तर, केही भने यसपल्ट राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लाग्न सक्ने संकेत छ। वामपन्थी र कांग्रेसप्रति वितृष्णा भएकाहरुको समूह राप्रपातर्फ लाग्ने देखिएको छ।
विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा सक्रिय, लामो समय शिक्षण पेशामा रहेकी साहित्यकार सरिता देवकोटालाई राप्रपाले मेयरमा उठाएको छ। उनले काट्ने भोटले पनि घोराहीको हिसाब गडबड गर्न सक्ने गौतम बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।