काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशैभर स्थानीय तहको निर्वाचनमा भएको तालमेल समग्रमा सफल भएको बताएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।
‘अपवाद ठाउँ बाहेक सबैले पार्टीको निर्णयलाई कार्यान्वयन गर्नुभएको छ। देशलाई सुशासन, संविधानवादमा अगाडि बढाउनका लागि हामीले निर्णय गरेका हौं,’ उनले भने, ‘समग्रमा सफल समन्वय गर्न हामी सफल भएका छौं। कतिपय ठाउँमा समझदारीबाट नै मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने हिसाबले अघि बढेको छ।’
उनले नेतृत्व तहबाट भएको निर्देशन विपरीत दिइएका उम्मेदवारी फिर्ता हुने दाबी समेत गरे।
‘प्राविधिक रुपमा नाम हटाउन नमिले पनि वक्तव्य निकालेर सहजीकरण गर्नुहुनेछ भन्ने हामीलाई लागेको छ,’ उनले भने, ‘त्यसो गरिएमा विधानको व्यवस्था अनुसार कारबाही गर्ने विषय उहाँहरूको हकमा लागू हुँदैन।’
उनले धेरैलाई तालमेल हुन सक्दैन कि भनेर लागेपनि त्यो सफल नभएको बताए। ‘वृहत रुपमा हेर्ने हो भने धेरै राम्रो भएको हो। जुन बाटो अख्तियार गरेका छौं। समग्र गठबन्धनमा रहेका दलहरु अगाडि बढेका छन्। गठबन्धनले देशलाई सही दिशामा अगाडि बढाइसकेका छन्,’ उनले भने।
उनले तालमेल गरेर जाँदा अहिलेसम्म नेपाली कांग्रेसको तर्फबाट २६५ प्रमुख पदमा उम्मेदवारी कायम भएको बताए। उनका अनुसार ३७२ गाउँपालिका प्रमुखमा उम्मेदवारी नेपाली कांग्रेसको तर्फबाट परेको छ। त्यस्तै, १९४ उपमेयरमा र ३४० गाउँपालिका अध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवारी परेको उनको भनाइ छ।
उनले निर्वाचन समग्रमा कोशेढुंगा सावित हुने भन्दै गठबन्धन भएका ठाउँमा नेपाली कांग्रेससहित गठबन्धन दलका उम्मेदवार विजयी हुने दाबी गरे। ‘यसको नतिजाले आगामी संघीय र प्रदेशको निर्वाचनमा पनि त्यसले सकारात्मक सन्देश जानेछ,’ उनले भने, ‘पछि गठबन्धनको नेतृत्वमा सरकार निर्माण गरेर विकास निर्माणका कामले अघि बढ्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।