काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बोली बोलेको बताएका छन्। नेता पुनले 'मतपत्र चपाउन मिल्दैन' भने प्रमुख निर्वाचन आयुक्त थपलियाको अभिव्यक्तिप्रति आपत्ति समेत जनाए।
मजदुर दिवसको अवसमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले 'मतपत्र बलियो कागजमा छापेकाले चपाउन, च्यात्न सकिँदैन' भनेर अभियव्यक्ति दिनु र ओलीको पनि सोही अभिव्यक्ति कसरी भयो भन्दै पुनले प्रश्न गरे। कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने पुनको भनाइ छ।
नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे। निर्वाचन आयोग रेफ्रीको भूमिकामा बस्नुपर्ने पुनको भनाइ छ।
'हामीले मतपत्र बलियो कागज राखेका छौं, अब चपाउन, च्यात्न सकिँदैन भन्नुभयो। त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ। केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो?' पुनले प्रश्न गरे, 'यसमा हाम्रो आपत्ति छ। निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ। कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन।'
नेता पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भूमिका खेल्न नसकेको समेत बताए। नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ती वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धीको रक्षापछि गठबन्धनका दलहरुले आपसमा प्रतिस्पर्धा गर्ने बताए।
पुनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको टिप्पणी गरे। ‘आजको अजेण्डामा केपी ओली वामपन्थी होइनन्। दक्षिणपन्थी हुन्। प्रतिगामी हुन्। त्यो एजेण्डा बोकेर हिँडेका छन्,’ पुनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।