काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक संस्थाहरूको असंवैधानिक दुरुपयोग गरेर एमालेलाई सरकारबाट हटाइएको दाबी गरेका छन्।
आइतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले आफू नेतृत्वको सरकार विस्थापन हुँदा सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित पाइलामा अवरोध पुगेको उल्लेख गरेका छन्।
'सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन। आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ', ओलीले भनेका छन्।
उनले आफू नेतृत्वको सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको दाबी गरेका छन्।
कोभिड-१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरूको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गरेको पनि ओलीले स्मरण गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।