काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
महामन्त्री शर्माले केही दिनअघि एमाले अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए। त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भएपनि सुन भएको जिकिर गरे।
‘नेपाली कांग्रेस पार्टी बलियो ढंगले विजयी बन्दै गर्दा कमरेड केपी ओलीलाई लाग्यो, उहाँले भन्नुभयो, एक/एक किलाका पाँचवटा ढक हुन् भन्नुभयो। हामी एक्लै क्विन्टल हौँ भन्नुभयो। मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु, हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौँ तर हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ’, आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘हामी पाँच वटा एक/एक किलाका ढक होइनौँ। हामी एक/एक तोला मात्रै हौँ। क्विन्टल चाहिँ उहाँ क्विन्टल नै हो। तर, एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाव बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो।’
उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी पनि गरेका छन्। उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकैठाउँ कसरी उभ्याएर जाने? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए।
महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको टिप्पणी गरे। उनले काठमाडौं महानगरपालिकामा यसपटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गरे।
महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील बनाउने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।