बाजुरा– सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बाजुरामा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन अस्वीकार गरेको छ। कुनैपनि पालिकामा तालमेल नगर्ने कांग्रेसको निर्णयबाट अपमान महसुस गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीले कहीँ आपसमा र कतै एमालेसँग तालमेल गरेका छन्।
जिल्लाका ९ पालिकामध्ये चारवटै नगरपालिकामा वडास्तरमा समेत कांग्रेसले तालमेल गर्न अस्वीकार गरेको छ। त्रिवेणी नगरपालिका र बुढीनन्दा नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले औपचारिक रुपमै गठबन्धन गरेका छन्।
बडिमालिका नगरपालिकामा एकीकृत समाजवादी र माओवादीले एमालेलाई सघाउने अनौपचारिक सहमति रहेको छ। अन्तिमसम्म कांग्रेससँग तालमेलको प्रयास गरेपनि 'थोरै मत' भन्दै दुवै पार्टीसँग संवाद समेत गर्न नचाहेपछि उनीहरु भड्किएका छन्। एमालेका उम्मेदवार अमर खड्का र नन्दा थापालाई सघाउने गरी समाजवादी र राप्रपाका मेयर र उपमेयरले उम्मेदवारी फिर्ता लिएका छन्।
त्रिवेणी नगरपालिकामा एमालेले प्रमुख र माओवादीले उपप्रमुख पाउने र ९ वटा वडा मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ वडा पाउने सहमति बनेको छ।
एमालेबाट प्रमुखमा मोतिसिंह बुढा 'उज्वल' र उपप्रमुखमा माओवादी केन्द्रका मनराज बुढा 'मिलन'लाई उठाउने लिखित सहमति भएको छ। वाम गठबन्धनबाट जित्ने गरि सहकार्य गरिएको एमाले बाजुराका उपाध्यक्ष भरत बुढाले बताएका छन्।
यसैगरी, बुढीनन्दा नगरपालिकामा पनि एमाले र माओवादीबीच चुनावी तालमेल गरिएको छ। कांग्रेसका क्षेत्रीय सभापति रामबहादुर बोहोरा समेत यो गठबन्धनमा सामेल भएका छन्। एमालेकका जनककुमार बोहोरा प्रमुखमा र कांग्रेसबाट विद्रोह गरेका रामबहादुर उपप्रमुखमा उम्मेदवार छन्।
वडा सदस्यसहितको पदमा समझदारी गरेर माओवादीसँग सहकार्य गरिएको नेकपा एमालेका उपसचिव एवं मेयरका उम्मेदवार बोहराले बताएका छन्। समाजवादीले पनि मेयरमा एमालेलाई सघाउने वचन दिएको छ।
यसैगरी पाँचवटा गाउँपालिकामध्ये हिमालीमा पनि ६ वटा वडामध्ये १ वडा माओवादीलाई दिएर एमालेले चुनावी तालमेल गरेको छ। एमालेका उम्मेदवार अजबहादुर मल्ल र राजकला सार्कीलाई नै मतदान गर्ने गरि तालमेल गरिएको छ।
स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेसले तालमेल गर्न नमानेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष हुनेगरी तालमेल भएको छ। अध्यक्षमा नेकपा एकीकृत समाजवादीका तर्फबाट चिरञ्जीवी शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका तर्फबाट सुरेश रोकायाले उम्मेदवारी दिएका छन्।
गाउँपालिकामा रहेका पाँच वडामध्ये वडा नम्बर १ र २ नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने वडा नम्बर ३, ४ र ५ नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गर्ने सहमति भएको हो।
जगन्नाथ गाउँपालिकामा मात्र सत्तापक्षीय दलहरुबीचको गठबन्धन बनेको छ। त्यहाँ पनि विवाद कायम छ। समाजवादीका धर्म शाही र माओवादी केन्द्रका नेता महेश शाहीले उपाध्यक्षको उम्मेदवारी कायम राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।