काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेको छ।
महासचिव विप्लवले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। ‘हाम्रो जनप्रिय एवं गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले हालै हुन गइरहेको स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ,’अपिलमा उनले भनेका छन्,‘वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनु भएका साथै अन्य कैयौं स्थानमा अन्य चिन्ह जस्तोकी, लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं।’
आफ्नो पार्टीले समर्थन गरेका कुनै पनि स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताका विरुद्ध हुने कार्य गरेको देखिएमा, पुराना संसद्वादी दलका व्यक्तिहरूले गरेको जस्तो भ्रष्टाचार एवं अनियमितता थोरै मात्र देखिएमा, आफ्नो पदलाई निजी स्वार्थका लागि प्रयोग गरेको देखिएमा साथै श्रमिक जनताको क्रान्तिकारी आन्दोलनलाई हानी पुग्ने कार्य गरेमा पार्टीले आफ्नो समर्थन फिर्ता लिने उनले उल्लेख गरेका छन्।
‘चुनावमा एमसीसी पक्षधर एवं राष्ट्रघाती तत्वहरूलाई विरोध एवं तिरस्कार गरौं, जनमतद्वारा परास्त गरौं र आफ्नो मतलाई देश र जनताको पक्षमा उभिने, संघर्ष गर्ने र आवश्यक पर्दा बलिदान दिन तयार हुने इमान्दार देशभत्त, जनवादी स्वतन्त्र प्रतिनिधिकहरुका पक्षमा सदुपयोग गरौं,’ विप्लवले विज्ञप्तिमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।