काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्त्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। ‘श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव छैन । श्रमजीवी वर्ग मुलुकको बहुआयामिक विकासको आधारस्तम्भ हुन्। संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्दछ,’ उनले सन्देशमा भनेका छन्।
उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्दै श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने गरेको छ। स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउने हाम्रो प्राथमिकता हो।स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रुपमा रहेको वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।