काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संविधानप्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयनका लागि मजदूर वर्गको सामूहिक प्रयासको खाँचो औंल्याएका छन्।
१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई श्रम र शिक्षालाई उत्पादनसँग जोड्दै श्रमिक मजदूरका लागि अवसर सुनिश्चित गर्न सङ्घीय संसद्को नेतृत्वका रूपमा आफू सदैव तत्पर रहेको बताएका छन्।
नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै सभामुख सापकोटाले उनीहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
दुई वर्षयता कोरोना महामारीका कारण समग्र अर्थतन्त्रमा परेको नकारात्मक असरले श्रमिक तथा मजदूर वर्गले प्रत्यक्ष असर भोग्नुपरेको उल्लेख गर्दै उनले कोरोनाको प्रभावमा कमी आएसँगै लाखौँ श्रमिक खाली बस्नुपर्ने र श्रमका लागि विदेश पुगेका श्रमिक रोजगारी गुमाएर फिर्ता हुनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षासमेत गरेका छन्।
सभामुख सापकोटाले श्रमिक एवं मजदूर वर्गको विशिष्ट योगदानका कारण संविधानसभाबाट बनेको संविधानमा श्रमिक एवं मजदूर वर्गको हक, अधिकार समावेश भएको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।