काठमाडौं– आफू अभिनित फिल्म श्रृङ्खला ‘ए मेरो हजुर’मा लैंगिक अल्पसंख्यकको मजाक बनाएको विषयमा अभिनेत्री सुहाना थापाले माफी मागेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत लैंगिक अल्पसंख्यक समुदायलाई सम्बोधन गर्दै एक पत्रमार्फत माफी मागेकी हुन्।
सुहाना अभिनित फिल्म ‘ए मेरो हजुर ३’सँगै त्यसअघिको ‘ए मेरो हजुर २’मा पनि लैंगिक अल्पसंख्यक समुदायलाई मजाकको विषय बनाइएको भन्दै आलोचना भएको थियो।
फिल्ममा यो समुदाय लक्षित गरेर विभिन्न दृश्य तथा संवादमार्फत विभेदपूर्ण अभिव्यक्ति प्रस्तुत गरिएको थियो। सुहानाले यीनै विषयलाई लिएर माफी मागेकी हुन्। उनले आफ्नो उदेश्य लैंगिक अल्पसंख्यक समूदायलाई मजाक बनाउने नभएको बताउँदै माफी मागेकी छिन्।
‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु,’ उनले लेखेकी छिन्, ‘लैंगिक अल्पसंखयक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका छौं। तर, यो कुरामा हामी चुकेका रहेछौं।’
थापाले आगामी दिनमा यो कुरालाई सच्याउने र गल्ती नदोहोर्याउने पनि बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।