फाइल तस्बिर
फुङलिङ– कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन्। यस वर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन्।
दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन्। दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिइन्। आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जना पुगेको उनले बताए।
केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन्। यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए। कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन्। आधार शिविर आउने क्रम जारी रहेको छ। समीरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निरास बनेका थिए। कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो। कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो। अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।