बाँके– नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्।
सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)का तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्।
कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन्। । उनी उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका थिए।
त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ। नगरपालिकाको वडा नं ३ मा दाजु तारकेश्वर रिजाल र भाइ माधव रिजालबीच प्रतिस्पर्धा हुने भएको छ। २०७४ सालमा पनि यी दाजुभाइबीच प्रतिस्पर्धा भएको थियो। सो बेला माधव निर्वाचित भएका थिए भने दाजु तारकेश्वर ६५ मतले पराजित भएका थिए।
माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै छन्। जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।