म्याग्दी- स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ।
लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताए।
वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ। वडा नं ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन्। वडा नं ४ को वडाध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ।
लोघेकरको वडा नं २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन्। चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन। घरपझोङ गाउँपालिका–१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ।
घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ। निर्वाचन आयोगले दाबी–विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ। घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।