काठमाडौं– ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
विस्फोटमा परी भारत घर भएका ४५ वर्षीय बृजमोहन महतो घटनास्थलमै ज्यान गएको थियो । यस्तै, उपचारका क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता शिद्धिविक्रम शाहले जानकारी दिए। उपचारको क्रममा मृत्यु हुनेमा भारतीय नागरिक २५ वर्षीय राजकुमार महतो छन्।
विस्फोटमा परेर घाइते भएका ६ जनाको पाटन अस्पतालमा उपचार पछि डिस्चार्ज भएको छ। पर्साका ४३ वर्षीय रमेश अधिकारी, ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीय दुर्गा पुरी, ललितपुरकै १९ वर्षीय सुदीप तिमिल्सेना, ललितपुर महांकालका २२ वर्षीय इश्वर बजगाँई, ओखलढुंगाकी २० वर्षीया अन्जना पौडेल र चन्द्रागिरीका ४९ वर्षीय गंगाराज शर्मा उपचारपछि डिस्चार्ज भएका एसपी शाहले बताए।
प्रहरीका अनुसार प्लान्टबाट सिलिण्डरमा अक्सिजन ग्यास भर्ने क्रममा विस्फोट भएको थियो। अक्सिजन प्लान्टमा विस्फोट भएको घटनाको निरीक्षणका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू पाटन औद्योगिक क्षेत्र पुगेका थिए। यस्तै, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतले घटनास्थलको निरीक्षण गरेका छन्।
अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने क्रममा विस्फोट भएको भनिए पनि यकिन कारण खुल्न नसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाइ छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।