काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल आएका टेड्रोस बिहीबार दिउँसो काठमाडौं उत्रिएका हुन्।
टेड्रोस ३ दिने भ्रमणको क्रममा नेपाल आइपुगेका हुन्। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्।
त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्। यस्तै, नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्नेछन्।
गेब्रेयसस तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ।
महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्वएशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।