काठमाडौं– राष्ट्रिय फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटमा नेपाली टोलीबाट धेरै अपेक्षा राख्नु उपयुक्त नहुने बताएका छन्।
एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि प्रशिक्षक अल्मुताइरीले शुक्रबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेका छन्।
पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा नेपाल निक्कै बलियो समूहमा रहेको बताउँदै धेरै अपेक्षा राख्नु उपयुक्त नहुने बताए। ‘हामी निकै बलियो समूहमा छौं। त्यसैले धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन। त्यसमा खेलाडीलाई दोष दिनु ठीक हुने छैन,’ उनले भने।
साफ च्याम्पियनसिप पुर्याउँछु भन्ने वाचामा आफूले गरेको र त्यसमा सफल भएको उनले बताए। राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त भएर आएपछि उनले नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए। तर, फाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो।
‘साफको फाइनलमा पुर्याउछु भनेर मैले वाचा गरेको थिएँ, त्यसमा म सफल भएँ। तर, एसिया कपका लागि हामीसँग व्यावसायिक खेलाडी पनि छैनन्, उमेर समूहको टोली मात्र छ। त्यसैले धेरै अपेक्षा राख्न सकिँदैन। तर, टोलीले कडा चुनौतीका लागि प्रयास गर्ने छ,’ उनले भने।
टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार प्रशिक्षणमा डाकिएका २५ मध्ये कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक सबै उपस्थित भएका छन्।
किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका छन्। प्रशिक्षणमा बोलाएका खेलाडीमध्ये ११ जना एन्फा होस्टलमै बस्ने र बाँकी खेलाडी घरबाट आउने जाने गर्ने उनले जानकारी दिए।
प्रशिक्षक अलमुताइरीले केही दिनको प्रशिक्षणपछि टोलीको बन्द प्रशिक्षण कतारमा हुने बताए। कतारमा केहि दिनको प्रशिक्षणपछि टोली कुवेत जाने छ।नेपाल छनोटमा समूह ‘ए’ मा रहेको छ। यही समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया जस्ता बलिया टोली छन्।
यो समूहका खेलहरू ८ जुनदेखि १४ जुनसम्म कुवेतमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।