काठमाडौं– काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनिसबैउठिसक्न अझै केही दिन लाग्ने भएको छ। यसअघि १० दिनसम्म नउठ्दा थुप्रिएको सबै फोहर उठाउन अझै केही दिन लाग्ने जनाइएको छ।
तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढिलाइ भएको भन्दै काठमाडौँ उपत्यकाबाट फोहर व्यवस्थापन लागि सिसडोल जान रोकेका थिए। सोमबारदेखि फोहरको गाडी सिसडोल जान थालेको भए पनि लामो समयदेखिको रोकिएको फोहर व्यवस्थापन हुन भने समय लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
स्थानीय र ठेकेदार कम्पनीबीच सडक मर्मतको काम तत्काल गर्ने सहमति भएपछि सोमबारदेखि फोहर लान थालिएको हो। पछिल्लो समय १० दिन फोहर नउठेको भए पनि गत फागुनमा पनि स्थानीयको अवरोधका कारण १९ दिन फोहर उठेको थिएन।
आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का लिएको नुवाकोट जाने पासाङल्हामु राजमार्ग सडक अहिलेसम्म बनाएको छैन। समयमा नै काम नभएको भन्दै स्थानीय बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन नसकेको हो।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।