काठमाडौं– मानव अंगसहित एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलले मानव अंगसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।
भारतको बिहार प्रदेशस्थित पूर्णिया ग्रामपञ्चायतका सिन्हालाई रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले नेपाल लाइभलाई बताए।
सिन्हाको साथबाट १ वटा मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औंलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरिएको गणपति लामिछानेले बताए।
बीओपी रानीबाट असई प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। रिक्सामा सवार सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएका थिए।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको गणपति लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।