काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नेपाललाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौती भएको बताएका छन्।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्।
उनले नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको बताए। गृहमन्त्री खाणले पछिल्लो समय शहरीकरणको मात्रा तीव्र गतिमा बढिरहेको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
गृहमन्त्री खाणले शहरको रुप नलिसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए। उनले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताए।
गृहमन्त्री खाणले नेपालमा कतिपय जिल्लाका केही स्थानहरुमा अझै पनि सवारीसाधनको पहुँच नपुगेको उल्लेख गर्दै ती ठाउँलाई अति दुर्गम स्थानको रुपमा घोषणा गरी राज्यले प्राथमिकताका साथ राखेर विकास गर्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।