काठमाडौं– चुनावको मुखमा अर्धसैन्य संरचनामा रहेको सुरक्षा फोर्स सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ। सरकारको ढिलासुस्तीका कारण गएराति १२ बजेदेखि सशस्त्र प्रहरी नेतृत्वविहीन बनेको हो।
सशस्त्र प्रहरी निमायवली अनुसार महानिरीक्षक (आईजीपी)को चार वर्षे कार्यकाल सकेर शैलेन्द्र खनाल सोमबार बिदा भएका थिए। उनी बिदा हुनुअगावै सरकारले आईजीपीमा बढुवा गर्नुपर्ने चलन भए पनि अहिलेसम्म कसैलाई पनि आईजीपी बनाउन सकेको छैन। जसकारण सशस्त्र प्रहरी अहिलेसम्म नेतृत्वविहीन बनेको छ।
अवकाशमा जानेबलो सशस्त्र आईजीपी खनालले पहिलो नम्बरका एआईजी पुष्पराम केसीलाई चार्ज बुझाएर बिदा भएका थिए। उनै केसीले निमित्त आईजीको जिम्मेवारी सम्हालेर काम गरिरहेका छन्।
सशस्त्रमा केसी र रामशरण पौडेल गरी दुई एआईजी छन्। उनीहरुमध्ये एक जनालाई सरकारले आईजीपीमा बढुवा गर्नुपर्ने हुन्छ। यी दुईमध्ये जो आईजीपी भए पनि आउँदो वैशाख १८ गतेसम्म नेतृत्व सम्हाल्ने छन्।
त्यसपछि भने उनीहरु ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।