काठमाडौं– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्।
नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्।
‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरु जो सुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ। नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई संरक्षण गरिरहेका छन्। यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ', मन्त्री झाँक्रीले भनिन्।
सोमबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरु प्रदुषित हुँदा बागमती नदी पनि प्रदुषित बन्न पुगेको टिप्पणी गरिन्।
उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत् सम्बोधन गर्न सक्ने अवस्था भएपनि नदी किनारकै जग्गा पाउनु पर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताइन्।
हाल विद्यमान कानुन र स्रोत साधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकोमा जोड दिइन्।
कार्यक्रममा सरकारका पूर्वमुख्यसचिव एवं बागमती सफाइका मुख्य अभियन्ता लिलामणि पौडेलले बागमती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्न धारणा राखे।
देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन सरकारसँग उनको माग छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको बागमती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।