काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्त्व राखी शैक्षिक संस्था स्थापना गर्ने बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए। नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पु¥याइरहेको उनले बताए।
नेपालमा नै दक्ष चिकित्सक र वैज्ञानिक उत्पादन गनुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपालमा नै चिकित्सक उत्पादन गर्ने शिक्षा नदिएर विदेश पठाइरहेका छौँ, हामीले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ।’
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले सम्मेलनले सरकारलाई स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण नीति निर्माणमा सुझाव दिन सहयोग गर्ने बताइन्।
‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ नाराका साथ सम्मेलन सुरु भएको हो। स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका सवालको अन्तर विषयात्मक अनुसन्धानका निष्कर्ष सम्बोधन गर्ने अभ्यासमा टेवा पु¥याउन सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले जानकारी दिए।
सम्मेलनका लागि स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेशन अनुसन्धानलगायत विषयमा अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।