अभिनेता आमिर खानले बलिउडमा ३० वर्ष खर्चिसकेका छन् । यति लामो करिअर बाँचिसकेका उनको सफलता र खुबीप्रति मोहित हुनेहरु थुप्रै छन् । उनलाई आदर्श र प्रेरणा मान्नेहरुको पनि कमी छैन।
आफ्नो हरेक जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने यी 'मिस्टर पर्फेक्सनिस्ट' लाई भने आफ्नो जीवन खासै रोचक लाग्दैन । उनी आफूबारे कुनै बायोपिक फिल्म बनोस् भन्ने चाहँदैनन्।
किनकि आमिरका अनुसार उनको जीवनकथा चाखलाग्दो छैन र यसबारे सबै जना जानकार छन् । बरु उनको मनमा गढेर बसेको छ, पर्दामा राज कपुरको चरित्र निर्वाह गर्ने।
फिल्ममा आफ्नो कथा देख्न नचाहे पनि आमिर आत्मकथाको पुस्तक लेख्न भने निकै इच्छुक छन् । आत्मकथा लेखे पनि उनको शर्त कडै खालको छ।
उनी भन्छन्- 'म आफ्नो जीवनबारे किताब लेखेर त्यसलाई तत्काल सार्वजनिक नगर्ने गरी सिल गर्छु । मेरो मृत्युपछि मात्र आत्मकथा प्रकाशन गर्न आफ्नो वकिललाई भन्नेछु । आत्मकथा निस्किँदा म रहन चाहन्नँ।
३० वर्षे करिअरमा उनले धेरै थोक गुमाएका छन् र त्यति नै धेरै पाएका पनि छन् । आफ्नो जिन्दगीमा गुमाएका चिजहरुको लेखाजोखा गर्दै आमिर भन्छन्- 'कामका कारण मैले परिवारलाई प्राथमिकता दिइनँ । दिनचर्यामा मेरो काम नै मेरो प्राथमिकता हो । यो कुराले धेरै सताउँछ । मलाई लाग्छ, मैले छोरा र छोरीको साथमा पर्याप्त समय गुजार्न पाइनँ । तर, मलाई यसमा अपसोच छैन, किनकि उनीहरुसँग मेरो सम्बन्ध निकै गहिरो र राम्रो छ । यदि सम्बन्ध बिग्रिएको हुन्थ्यो भने सँगसँगै समय नगुजार्नुको अपसोच हुनेथ्यो।'
आमिर फुर्सदको समयमा पाँच वर्षीय छोरा आजादसँग खेल्दै समय बिताउँछन्।
अहिले उनी अमिताभ बच्चनसँग 'ठग्स अफ हिन्दुस्तान' फिल्ममा काम गरिरहेका छन् । महानायक बच्चनसँग काम गर्न पाउँदा उनी निकै खुसी छन् । त्यसअघि उनको नयाँ फिल्म 'सेक्रेट सुपरस्टार' अक्टुबर १९ मा आउँदै छ । अद्वैत चन्दनले निर्देशन गरेको यो आमिरलाई संगीतकारको भूमिकामा देख्न पाइनेछ । 'दंगल' बाट चर्चामा आएकी जायरा वसीम यो फिल्ममा अहम् भूमिकामा देखिने बताइएको छ।
बलिउडका कतिपय कलाकारहरु करिअरको एउटा मोडपछि राजनीतिमा होमिने गरेका छन् । तर, आमिरलाई त्यतातिर कुनै चाख छैन । टेलिभिजन शो 'सत्यमेव जयते' बाट विभिन्न सामाजिक मुद्दा केलाउने र भारतका विभिन सामाजिक मुद्दाहरुमा जोडिएका आमिरले कहिल्यै पनि राजनीतिमा कदम नराख्ने तय गरेका छन्।
उनी भन्छन्- 'जुन व्यवसायमा म छु, यसमा मलाई असाध्यै लगाव छ । अर्को कुरा, समाजको लागि म जे गर्न चाहन्छु, त्यसका लागि राजनीतिमा जानुपर्ने आवश्यकता देख्दिनँ।'
सुप्रिया सोगले / बिबिसी हिन्दी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।