एमसीसीपछि धेरै चर्चामा छ भ्युटावर। चुनावको मिति नजिकिँदै गएको समयमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार एउटा दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्युटावर उद्घाटन गरे। जसको अत्यधिक चर्चा भयो र भइरहेको छ। उनीहरुले भ्युटावरबाट हेरेका भिडियो र तस्बीहरू अहिले पनि सामाजिक सञ्जालमा घुमिफिरी आइपुग्छन्।
अध्यक्षद्वयले जसरी भ्युटावरलाई महत्त्व दिए, त्यसले मात्र यसको चर्चा भएको होइन। आधारभूत संरचना निर्माण गर्न नसकिरहेका बेला अग्ला डाँडामा भ्युटावर बनाउने स्थानीय तहका जनप्रतिनिधिहरुको सोंचलाई लिएर चर्चा भएको हो।
प्रश्नहरु उठिरहेका छन्- अग्लो डाँडाबाट प्रष्ट रुपमा चारैतिर नियाल्न सकिन्छ भने त्यहाँ किन भ्युटावर?
भ्युटावर बनाउनेहरुले यसको उत्तर चित्तबुझ्दो दिन सकेनन्। हाललाई औचित्य पुष्टि गर्न नसक्दा विकासको खराब मोडेलका रुपमा ती डाँडाबाट सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइपुगे। ती ठट्टाका विषय बने। आलोचनाका माध्यम बने। स्थानीय तहका जनप्रतिनिधिमाथि रोष व्यक्त गर्ने बहाना बने।
भ्युटावरलाई आमजनले हेर्ने भ्यु थियो यो। त्यसलाई मेरो दृष्टिवबाट अवलोकन गर्ने कोसिस गर्दा आँखाअघि आइपुग्यो न् १८८७ मा फ्रान्समा बनेको आइफिल टावर। त्यसपछि सन् १९५७ मा जापानमा बनाइएको टोकियो टावर। ती टावर आँखाअघि आउँदा प्रश्न पनि सँगै आयो- ती टावर बनाउँदा अहिले हाम्रोमा जस्तो बिरोध भयो होला कि भएन होला? नेपालमा धरहरा बनाउँदा नि?
पक्ष वा विपक्षमा कुराहरु हुन्छन्। तर, ती निर्माणमा अवरोध हुनेगरी विरोध नभएका कारण अहिले देशको पहिचान बोकेर उभिएका छन्। जापान भन्नेबित्तिकै दिमाग आइहाल्छ- टोकियो टावर।
फ्रान्सको त पहिचानै जस्तै भइसक्यो आइफिल। संसारभरिबाट त्यहाँ पुग्ने पर्यटक यी टावरअघि ठिङ्ग उभिएर तस्बिर खिचाउँछन्। त्यही तस्बिर पोष्ट भएपछि उनीहरुका निकटस्थहरु ती देशमा पुगेको जानकारी पाइहाल्छन्।
त्यसैगरी, धरहराले पनि काठमाडौंको पहिचान बोकेको छ। बाहिरबाट काठमाडौं आउने मान्छे पहिले यसमा चढेर काठमाडौं नियालेपछि एकथान तस्बिर लिएर गाउँ फर्किन्थ्यो। अहिले निर्माणाधीन छ। फेरि पनि त्यो क्रम चल्नेछ। यी अहिले हामीकहाँ विरोध भइरहेका भ्युटावरका ठूला रुपमा हुन् र यिनीहरुको महत्त्व पनि ठूलै छ। बनाउनेहरुको पनि ठूलो नाम छ।
तर, त्यसको नक्कल गरेर साना भ्युटावर डाँडाको टुप्पोमा उमार्नेहरु बदनाम भइरहेका छन्। उनीहरुले भ्युटावरलाई हेरिने अहिलेको जस्तो 'भ्यु' (दृष्टिकोण)को पूर्वानुमान नगरी बनाएर र कटाक्षका पात्र बने। उनीहरुले यी स-साना भ्युटावर बनाउनुअघि जनताका स-साना आवश्यकता महसुस गरेका भए प्राथमिकता अन्य कुराले पाउँथे। भ्युटावर बन्दैनथे। बन्ने अवस्थामा पनि ती टावरहरुको अर्कै महत्त्व हुन्थ्यो।
डाँडाबाट तल हेर्ने होइन, अहिले डाँडापाखाको हरियो हेर्ने भ्युटावरको आवश्यकता बढ्न थालेको छ। वा त्यस्तो हरियालीसहितको बगैंचा, स्मारक, फिटनेस पार्क आदि शहरका बीचमा जरुरी हुन सक्छ।
नेपालका डाँडाकाँडा त आफैंमा भ्युटावर हुन्। जहाँ सिमेन्टका टावर होइन, एकजोडी बरपीपल वरिपरी चिटिक्क परेको चौतारो चाहिन्छ। जसले नेपालको पुरानो पहिचान अद्यावधिक मात्रै गर्ने छैन, जीवनको भागदौडमा थाक्दै गरेका मान्छेहरू एकपल सुस्ताउन पाउनेछन्।
अग्ला डाँडाका पीपल चौतारी हेर्न मन लागे आँखा खोलेर हेर्ने भ्युटावर र आँखा चिम्लिन मन लागे सुस्ताउने ठाउँ बन्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।