काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयरको रुपमा उठ्न लागेका भनी चर्चा गरिएका अभिनेता भुवन केसीले मेयर पदका लागि उम्मेद्वार बन्न असमर्थ रहेको बताएका छन्। केही दिनअघि उन्नत लोकतन्त्र पार्टीको तर्फबाट मेयरको रुपमा उठ्न लागेको बताइएका केसीले शनिबार सामाजिक सञ्जालमार्फत आफू पदका लागि उम्मेदवार बन्न असमर्थ रहेको बताएका हुन्।
स्वागत नेपाल नेतृत्वको पार्टीले केही दिनअघि आफ्नो पार्टीको परराष्ट्र विभागको अध्यक्ष पनि नियुक्त गर्दै भुवन केसीले काठमाडौं महानगरको लागि मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको थियो। केसीले भने यो विषयमा केही बोलेका थिएनन। शनिबार सामाजिक सञ्जालमार्फत आफूबारे चलेको चर्चा र मेयरका लागि उम्मेद्वारी दिने घोषणालाई केसीले सम्बोधन गरेका छन्।
‘प्राविधिक कारण तथा कार्यव्यस्तताका कारण म महानगरापालिकाको मेयर पदमा उम्मेद्वार बन्नका लागि असमर्थ रहेको छु’, सामाजिक सञ्जालमा केसीले लेखेका छन्, ‘यो पत्रमार्फत हालका दिनसम्म म कुनै पार्टीमा नरहेको जानकारी गराउन चाहन्छु।’
केसीले एउटा कलाकारले जनप्रतिनिधिको रुपमा काम गर्न चाहने इच्छा राख्नु कुनै अस्वाभाविक कुरा नभएको पनि बताएका छन्। उनले कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्न चाहँदा ‘सेवा गर्न सक्दैन’ भन्ने किसिमका टिप्पणी देख्दा आफूलाई नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृटिकोणबारे ज्ञात भएको बताएका छन्। यसले आफूलाई खिन्न बनाएको केसीको टिप्पणी छ।

तर, यी कारणले आफूले निर्वाचनमा उम्मेद्वारी नदिने निर्णय नलिएको पनि उनले स्पष्ट पारेका छन्। उनी लेख्छन्, ‘स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।