काठमाडौं– मण्डला थिएटरमा आजबाट ‘तीन ट्रान्जिट’को मञ्चन सुरु भएको छ। रंगकर्मी सोमनाथ खनालको निर्देशनमा बनेको नाटक आजदेखि वैशाख ४ गतेसम्म नाटकको प्रदर्शन हुनेछ।
राजनीतिमा युवापुस्ताको पहिचानको खोजीको विषयमा आधारित रहेको यो नाटकले तीन जना युवाहरुको कथा भन्छ। केही दिनअघि सामाजिक सञ्जालमार्फत विशेष भर्चुअल प्रस्तुति समेत भएको यो नाटकमा राजनीतिक विषयवस्तुलाई समेटिएको छ।
चैत २१ गते नाटकलाई फेसबुकमार्फत भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनीमा नाटकलाई दर्शकले रुचाएका थिए। निर्देशक खनालकाअनुसार नाटकले प्रजातान्त्रिक पद्धतिलाई सुदृढ बनाउन युवाहरुको भूमिकाको विषयमा छलफल गराउँछ।
शुक्रबारबाट नियमित मञ्चन सुरु भएको यो नाटकमा मण्डला थिएटरले नियमित सञ्चालन गर्दै आएको नाट्य प्रशिक्षण कार्यक्रम ‘थिएटर ल्याब’का नवौं ब्याचका प्रशिक्षार्थीहरुको अभिनय रहेको छ।
नाटकमा बुद्धि तामाङ, विजय बराल, मोहन चाम्लिङ राई, विपिन जयसवाल, प्रविन पुरी, रवीन्द्र खत्री, सस्मिल पुन मगर, राजिव चौधरीलगायतका कलाकारको अभिनय रहेको छ।
हरेक दिन साँझ पाँच बजे नाटक थापागाउँस्थित मण्डला थिएटरमा प्रदर्शन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।