म्याग्दी– गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन्।
म्याग्दीको धौलागिरी गाँउपालिका–१ को विकट गाँउ बुर्जामा शुक्रबार पुगेका गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताएका हुन्।
‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ। मोटरबाटो नपुगेका स्थानमा मोटरबाटो नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘बुर्जाजस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु।’
हिमालको फेदमा बडो कष्ट सहेर बसिरहेका नेपालीहरूले नेपाली भूमि, राष्ट्रियताको रक्षा गरिरहेको भन्दै उनले प्रशंसा गरे। हिमाल र तराईका सिमानामा बसेर नेपालको भूमि, राष्ट्रियता र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नेपालीहरूलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाइ छ।
विकट गाँउमा मानवबस्ती भयो भनेर सुगममा सार्ने योजना ल्याउने गृहकार्यमा लाग्नु भन्दा दुर्गमलाई नै सुगम बनाउने योजना ल्याउनु उपयुक्त हुने उनले बताए।
‘दुर्गम स्थानमा भयो भनेर बस्ती सार्ने होइन। विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो। नयाँ सम्भावना के हुनसक्छ, खोज्ने हो,’ गृहमन्त्री खाणले भने, ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पहल गर्छ।’
जिल्ला सदरमुकाम बेनीबाट २६ कोष टाढा पर्ने बुर्जामा छन्त्याल र विश्वकर्माका समुदायका २५० घरधुरी छन्। अत्यधिक हिँउ पर्ने यो स्थानमा जौँ, गौँ र आलुको मात्रै खेती हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।