काठमाडौं- वाम गठबन्धनको निर्वाचन क्षेत्र बाँडफाँड कार्यदलले २०७० को संविधानसभा निर्वाचन र हालको स्थानीय तहमा बढी मत पाएको आधारमा एमाले र माओवादी केन्द्रलाई उक्त क्षेत्र दिने मापदण्ड तय गरेको छ।
बिहीबार राति अबेरसम्म बसेको कार्यदलले उक्त आधारमा पार्टीबाट जिल्लागत सूची तयार गर्ने र कार्यदलमा छलफल गरी निर्णय गर्ने सहमति भएको छ। गत मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल मिलेर वाम गठबन्धन बनेको थियो। त्यसलगत्तै बसेको बैठकले तीन दिनभित्र उम्मेदवारी टुंग्याउन कार्यदललाई निर्देशन दिएको थियो।
माओवादीका नेता नारायणकाजी श्रेष्ठका अनुसार अहिले दलहरु आफ्नो दाबीको क्षेत्र टुंग्याउन आन्तरिम बैठक गरिरहेका छन्। माओवादीको आन्तरिक बैठक पेरिसडाँडामा बसिरहेको छ भने एमाले पनि आन्तरिक छलफलमा जुटेको छ।
‘दुवै पार्टीको आन्तरिक छलफलपछि कार्यदलको बैठक बस्छ र जिल्लागत क्षेत्र निर्धारण हुन्छ,’ श्रेष्ठले भने, ‘शनिबारसम्म उक्त कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेताले बुझाउने गरी कार्य गरिरहेको छ।’
वामपन्थी गठबन्धनले तीन दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७५ जिल्लाको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको दोस्रो दिन पार्टीगत छलफल थालिएको हो।
माओवादीले संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ २६ सिट र एमालेले ९० सिट जितेको छ। संविधानसभामा २४० सिट रहेको थियो उक्त संख्या घटेर १६६ भएको छ। दुवै पार्टीमा टिकटका आकांक्षीहरु धेरै भएकाले सिट बाँडफाँट सहज हुने देखिँदैन।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत रुपमा तत्काल उम्मेदवार टुंगो लगाउन कार्यदललाई निर्देशन दिएलगत्तै तयारी थालिएको थियो।
प्रत्यक्षतर्फ कात्तिक ५ र समानुपातिकतर्फ उम्मेदवारको सूची असोज अन्तिम साता बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ। उक्त कार्यतालिकालाई ध्यानमा राखेर तोकिएकै अवधिमा काम सक्ने तयारीमा कार्यदल लागेको माओवादीका नेता श्रेष्ठले बताए।
अहिले जिल्ला जिल्लाबाट प्रदेश र प्रतिनिधिसभाका लागि नाम सिफारिस हुन सुरु भइसकेको छ।
यसअघि चुनावी तालमेल गरेर जाने सहमति गरेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी घोषणापत्र बनाउन र उम्मेदवार चयन गर्न कार्यदल गठन गरेको थियो।
कार्यदलमा तीन वटै पार्टीका अध्यक्षसहित एमालेका महासचिव ईश्वर पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेका छन्।
चुनाव घोषणापत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष वामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन्।
कार्यदलले ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उम्मेदवार तय गर्ने जिम्मेवारी पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।