काठमाडौं– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता स्वच्छ र निष्पक्ष निर्वाचनका लागि भएको भन्दै राजनीतिक दलदेखि सबैले पालना गर्नुपर्ने बताएको छ।
नियमित पत्रकार सम्मेलनका क्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल यस्तो बताएका हुन्। ‘आचारसंहिता कसैलाई अप्ठ्यारो पार्ने भन्ने भन्दा सहजताका लागि हो। आयोगले मात्रै कडाइका साथ लागू गर्नुपर्छ भन्दा पनि सबैको जिम्मेवारी हो,’उनले भने,‘आ–आफ्नो ठाउँमा जिम्मेवारी सबैले पूरा गरे सहज हुन्छ।’
सहायक प्रवक्ता अर्यालले केन्द्रीय स्तरमा आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा नै अनुगमन समिति पनि गठन भएको जानकारी दिए।
‘जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा अनुगमन समिति रहन्छ। निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रतिनिधि पनि हुन्छन्,’ उनले भने। उनले प्रमुख प्रतिपक्षी दलबाट आचारसंहिताका विषयमा लिखित रुपमा आएका कुरालाई गम्भीरतापूर्वक आयोगले लिएर स्पष्ट पार्ने बताए।
उनले दलहरुले उठाएका केही विषयमा पनि आयोगले छलफल गरेर त्यसपछि आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने निर्णय गर्ने प्रष्ट पारे।
उनले निर्वाचनको तयारीको अन्य प्राविधिक काम तीव्र रुपमा भइरहेको समेत बताए। ‘मतपत्र छपाइको कार्य तोकिएको समयभित्रमा नै सकि सक्नुपर्छ। ढुवानी र वितरणको जिम्मेवारी पनि त्यतिकै महत्वपूर्ण छ,’उनले भने,‘हिमाली र दुर्गम ठाउँमा हेलिकप्टरबाट पनि मतपत्र लैजानुपर्ने हुन्छ।’
उनले पहिलो चरणमा ती क्षेत्रका मतपत्र छाप्ने काम भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।