काठमाडौं– नेकपा (एमाले)लाई एक क्विन्टलको ढक भनेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पर्यटनमन्त्री प्रेम आलेले कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले एमालेको एक क्विन्टलको ढकलाई आधा किलोमा झार्न भनेका हुन्।
बिहीबार भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै उनले भने, 'नेकपा एमालेका नेता केपी शर्मा ओलीले जुँगा हल्लाइहल्लाइ भनिराख्नुभएको छ- एक किलोका पाँच वटा ढक र एक क्विन्टल आफूलाई संज्ञा दिनुभएको छ। यहाँ गठबन्धनका साथीहरु मैले बढी देखिरहेको छु, तपाईंहरु एक जुट भएर कम्मर कसेर लाग्नुस्। त्यो एक क्विन्टललाई आधा किलोमा झार्नुस्। हामी तपाईंहरुको साथमा छौँ।'
चैत १६ गते व्यवसायी दुर्गा प्रसाईंको तरकारी बजार उद्घाटन गर्दै ओलीले गठबन्धनका दलहरुलाई एकएक किलोको ढक जस्तो भएको बताएका थिए।
'मैले भन्ने गरेको छु, यदि एउटा तराजुमा एकएक किलोका पाँचवटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ, नेकपा एमाले क्विन्टलको ढक जस्तो हो, गठबन्धन भनेका एकएक किलोका ढक जस्तो हो,' ओलीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।