बेदुराम भुसाल, फाइल तस्बिर
काठमाडौं– नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले कानुन व्यवसायी गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा–कोइराला)लाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताएका छन्।
बन्दीलाई मन्त्री नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। बन्दीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन्।
न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव भुसालले बन्दीलाई सत्तारुढ गठबन्धनका दलहरुको साझा व्यक्तिको रुपमा मन्त्री नियुक्त गरिएको बताए।
यसअघि सरकार गठन हुँदा नै मन्त्रिपरिषद्मा कानुन व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गर्दै महासचिव भुसालले बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफुहरुले पार्टीको कोटाबाट नभइ साझा व्यक्तिको रुपमा लान आग्रह गरेको पनि बताए।
गैर सांसदलाई ६ महिनाको लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको भुसालले उल्लेख गरे। बन्दी मन्त्री नियुक्त भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको उनको भनाइ छ।
‘उहाँ (बन्दी)लाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाउँ भन्ने कुरा पहिले पनि भएको थियो। खासगरीकन कानुन व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल बिस्तार गर्नुभयो त्यतिबेलै देखि थियो,’ भुसालले भने, ‘विभिन्न कानुन व्यवसायी साथीहरुबाट पनि, कानुनी क्षेत्रका विभिन्न नेता साथीहरुका नाम पनि आएका थिए। त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।