काठमाडौं– गत असोजमा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नेपाली फिल्म हल सञ्चालनमा ल्याउन विदेशी फिल्म नै आवश्यक भएको तर्क अघि सारे। सरकारले कोरोना महामारीका कारण बन्द गरेका सिनेमा हलहरू असोज २१ बाट खुला गरेपछि हलमा नेपाली फिल्म प्रदर्शन हुने छनक देखिएको थिएन। जसकारण गत असार ११ मै अन्तर्राष्ट्रिय रुपमा प्रदर्शनमा आएको हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस–९’लाई नेपाली हलमा प्रदर्शन गरिएको थियो।
केही दिनपछि नेपाली फिल्मको प्रदर्शनको घोषणा त भयो। तर, हलिउड र बलिउड फिल्मको चेपुवामा परेका नेपाली फिल्महरू चल्न सकेनन्।
दीपकले नेपाली फिल्मप्रतिको चिन्ता देखाएको यो पहिलो पटक थिएन। उनले मुख्यगरी हिन्दी फिल्मलाई लिएर नेपाली फिल्मप्रति चिन्ता देखाउँदै आएका छन्। नाकाबन्दीको समयमा उनले ‘नाकाबन्दीमा पेट्रोल र खाद्य पदार्थ मात्र नभएर, हिन्दी सिरियल पनि होस्, हिन्दी फिल्म पनि होस्’ भन्ने तर्क प्रस्तुत गरेका थिए। उनले नेपालमा मनोरञ्जन पनि शुद्ध नेपाली हुनुपर्ने तर्क अघि सारेका थिए।
उनले मुख्यगरी हिन्दी फिल्मप्रतिको आक्रोश देखाउँदै पटक पटक यस्ता तर्क प्रस्तुत गर्छन्। नेपाली फिल्मलाई सिनेमा हलमा ‘टिक्न’ मुस्किल बनाउने हिन्दी फिल्मलाई बन्द गर्नुपर्ने उनको तर्क समय समयमा देखिन्छ।
पछिल्लो समय दक्षिण भारतीय फिल्मको दबदबा नेपाली फिल्म क्षेत्रमा बढिरहेको छ। दीपकले समयसमयमा पोख्ने आक्रोश अहिले अन्य चलचित्रकर्मीहरूमा पनि देखिएको छ। वैशाख १ बाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’को प्रचारप्रसारमा व्यस्त रहेका फिल्मको निर्माण पक्ष र कलाकारहरूले आफ्नो अन्तर्वार्तामै दक्षिण भारतीय फिल्मप्रति द्वेष पोखिरहेका छन्। सोही दिन प्रदर्शनमा आउने फिल्म ‘केजीएफ २’लाई लिएर ‘ए मेरो हजुर ४’की निर्देशक झरना थापा र मुख्य कलाकार अनमोल केसी तथा सुहाना थापाले आक्रोश पोखिरहेका छन्।
हिन्दी फिल्म क्षेत्रमा पनि मुख्यगरी बलिउडले लामो समयदेखि नेपाली फिल्ममाथि दबाब सिर्जना गरेको थियो। ठूला बजेट र चलेका कलाकार भएका बलिउडका फिल्म प्रदर्शन हुने मितिमा नेपाली फिल्मको प्रदर्शन हुँदा मिति सार्नेसम्मका घटनाबारे नेपाली फिल्म क्षेत्र जानकार छ। तर, यो परम्परा दक्षिण भारतीय फिल्म क्षेत्रतर्फ पनि विस्तार भएको छ।
पछिल्लोपटक यसको प्रभाव नेपाली फिल्म ‘चपली हाइट ३’को प्रदर्शनका क्रममा देखियो। महामारीपछि बलिउड फिल्म ‘सूर्यवंशी’का कारण दर्शक फिल्म हलसम्म तानिएका थिए। त्यसपछि विस्तारै नेपाली फिल्मको घोषणा मिति सार्वजनिक हुन थालेको थियो। अर्जुन कुमारको लगानीमा बनेको फिल्म ‘चपली हाइट ३’ पुस २ गते प्रदर्शन हुने तोकिएको थियो।
तर, सोही दिन दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहेको फिल्म ‘पुष्पाः द राइज’को प्रदर्शन मिति तय हुँदा र फिल्मलाई नेपालमा पनि ल्याउने भएसँगै अर्जुनले आफ्नो फिल्मलाई पछि सारे। फिल्म पुस १५ का लागि तोकिएको थियो। तर, नेपाली फिल्मसँग जुधेका कारण फिल्म पुस ३० मा मात्रै प्रदर्शन भएको थियो।
अर्जुनले सामाजिक सञ्जालमार्फत ‘पुष्पा’ रिलिज भएमा आफ्नो फिल्म प्रदर्शन नगर्ने चेतावनीसम्म दिए। तर, पनि ‘पुष्पा’ नेपालमा प्रदर्शन भएको थियो। फिल्म नेपालमा लाग्ने निधो भएसँगै अर्जुनले आफ्नो फिल्मलाई पछि सारेका थिए। पुस २ बाट नेपालमा प्रदर्शन भएको ‘पुष्पा’ले भने बक्सअफिसमा राम्रो व्यापार गरेको थियो।
युट्युबको ट्रेन्डिङ हुँदै सिनेमा घरसम्म
केही वर्ष अघिसम्म युट्युबको ट्रेन्डिङ पेजमा (नेपालको) दक्षिण भारतीय फिल्मको दबदबा हुन्थ्यो। युट्युबअघि भारतीय टेलिभिजन च्यानल ‘सेट इण्डिया’मा दक्षिण भारतीय फिल्मलाई डब गरेर हिन्दी भाषामा ल्याई प्रसारण गरिन्थ्यो। यसरी प्रसारण हुने फिल्म सीमित थिए र पटक पटक दोहोरिने पनि गर्थे।
तर, युट्युब आएसँगै दक्षिण भारतीय कलाकार धनुष, रवि तेजा, विजय देभेरकोण्डा, महेश बाबु, जुनियर एनटीआरजस्ता कलाकारहरूको फिल्मले युट्युबको ट्रेन्डिङ पेज भरिन थाल्यो। दक्षिण भारतीय फिल्मलाई हिन्दी भाषामा डब गरेर राखिएका चलचित्रहरूमा नेपाली दर्शकको पनि उत्तिकै रुचि देखिन्थ्यो।
भारतीय युट्युब च्यानल तथा फिल्म निर्माण कम्पनी ‘गोल्डमाइन्स’मार्फत दक्षिण भारतीय फिल्महरूलाई हिन्दी भाषामा डब गरी सार्वजनिक गरिन्थ्यो। यी फिल्महरू युट्युबमा रिलिज भएकै दिन ट्रेन्डिङको पहिलो नम्बरसम्म पुग्ने गरेका थिए। पछिल्लो समय ‘आदित्य मुभिज’मा पनि दक्षिण भारतीय फिल्महरू हिन्दी भाषामा डब भएर सार्वजनिक भइरहेका छन्।
विस्तारै हिन्दी फिल्मअन्तर्गतको बलिउडमा पनि दक्षिण भारतीय फिल्महरू रिमेक हुन थाले। जसकारण बलिउडलाई हेरिरहेका नेपाली दर्शकले त्यहाँ रिमेक हुने दक्षिण भारतीय फिल्मतर्फ पनि आफ्नो चासो राख्न थालेका थिए। रिमेकपछि सार्वजनिक भएका ‘राउडी राथोड’, ‘रेडी’, ‘वान्टेड’, ‘दृश्यम’, ‘कविर सिंह’जस्ता बलिउडका फिल्महरू बक्सअफिसमा धमाका मच्चाउन सफल त भए। तर, यी फिल्मका मुल कथा भने दक्षिण भारतीय फिल्मकै थियो।
केही वर्षअघि दक्षिण भारतीय फिल्महरूमध्येमा हिन्दीमा डब भएको ‘मघधिरा’ नेपाली दर्शकमाझमा पनि निकै चर्चित थियो। एसएस राजमौलीको निर्देशनमा बनेर २०१० मा प्रदर्शनमा आएको अल्लु अर्जुन अभिनित यो फिल्मलाई युट्युबमा सार्वजनिक भएसँगै नेपाली दर्शकले निकै रुचाएका थिए।
२०१५ मा राजमौलीकै निर्देशनमा बनेको फिल्म ‘बाहुबली’ प्रदर्शनमा आउँदा फिल्मले दक्षिण भारतीय फिल्मको दबदबालाई थप विस्तार गर्यो। उनको फिल्मसँगै भारतका मात्रै नभएर नेपाललगायतका देशका दर्शकहरूले पनि दक्षिण भारतीय फिल्मलाई मुख्य मनोरञ्जनको श्रोतको रुपमा हेर्न थालेका थिए। सहज र निःशुल्क रुपमा युट्युबमा सार्वजनिक हुने यी फिल्महरू हिन्दी भाषामा डब हुने भएकाले भाषिक रुपमा पनि नेपाली दर्शकलाई बुझ्न सहज थियो भने मनोरञ्जनात्मक रुपमा पनि यी फिल्महरू बलिउडकाभन्दा फरक र पृथक हुन्थे।
‘बाहुबली’को प्रदर्शनपछि दक्षिण भारतीय सिनेमामा मात्रै सीमित रहेका प्रभासको क्रेज नेपालमा पनि बढेको थियो। दक्षिण भारतीय अन्य कलाकारहरूसँगै अभिनेत्रीदखि कमेडियनसम्मको क्रेज नेपालमा व्यापक बन्दै गयो। युट्युब हुँदै दक्षिण भारतीय फिल्महरूले नेपाली सिनेमा हलमा पनि स्थान बनाउन थाले। ‘बाहुबली’का निर्देशक राजमौलीको सोही फिल्मको दुई भाग सार्वजनिक हुँदा उनी भारतकै सबैभन्दा चर्चित निर्देशक बनिसकेका थिए। २०१८ मा प्रदर्शनमा आएको अर्को फिल्म ‘केजीएफ च्याप्टर’को कथा र प्रस्तुतिले पनि दक्षिण भारतीय फिल्मलाई थप विस्तारित गर्यो।
अहिले हेर्दा नेपाली फिल्म हलसम्म दक्षिण भारतीय फिल्मले आफ्नो यात्रा तय गरिसकेको छ। पछिल्लो पटक ‘पुष्पा’ सार्वजनिक हुँदा नेपाली फिल्मकर्मीमा देखिएको त्रास यसैको उपज हो। ‘पुष्पा’पछि ‘वलिमै’, ‘राधेश्याम’ र हालसालै प्रदर्शनमा आएको ‘आरआरआर’ पनि नेपाली फिल्महलमा प्रदर्शन भएको छ। नेपाली फिल्मले महिनाभरको प्रदर्शनबाट आम्दानी गर्नेभन्दा धेरै रकम यी फिल्महरूले केही दिनमा कमाएका छन्। पछिल्लोपटक प्रदर्शनमा आएको ‘आरआरआर’ले नेपालमा दुई दिनमै दुई करोड कारोबार गरेको थियो।
बढ्दै दबदबा, नेपाली फिल्म कति खतरामा?
‘चपली हाइट ३’को प्रदर्शन मिति दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ प्रदर्शन हुने भएसँगै सारेका अर्जुन कुमारले सामाजिक सञ्जालमार्फत नेपाली फिल्मको समय सकिएकोसम्म भनेका थिए।
नेपाली हरर फिल्म ‘कठपुतली’मा पनि ‘पुष्पा’को प्रभाव देखिएको थियो। ‘पुष्पा’ प्रदर्शन भएको तेस्रो हप्तामा प्रदर्शन भएको ‘कठपुतली’लाई मल्टिप्लेक्समा ठाउँ पाउनेदेखि दर्शकलाई तान्न हम्मेहम्मे परेको थियो।
वैशाख १ बाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ४’को प्रदर्शनको विषयलाई लिएर फिल्मको निर्माण पक्ष आफूहरू दक्षिण भारतीय फिल्मसँग नडराउने बताइरहेका छन्। तर, फिल्म क्षेत्रका जानकारहरूका अनुसार सोही दिन प्रदर्शनमा आउने ‘केजीएफ च्याप्टर २’ले दर्शकलाई बढी तान्ने अपेक्षा गरिएको छ।
दक्षिण भारतीय फिल्मको दबदबा केही समयअघिको बलिउडको भन्दा व्यापक रुपमा नेपाली फिल्म क्षेत्रमा परिरहेको छ। दर्शकलाई सिनेमा हलमा तान्ने मात्रै नभएर नेपाली फिल्मलाई नै विस्थापन गर्ने स्तरमा यी फिल्मको दबदबा देखिएको छ। दर्शकले नेपाली फिल्मप्रतिभन्दा बढी अन्तर्राष्ट्रिय र त्यसमा पनि दक्षिण भारतीय फिल्मप्रति रुची देखाउँदा नेपाली फिल्म खरतामा परेको निर्माता तथा फिल्मकर्मी अर्जुन कुमार बताउँछन्।
अर्जुन आफूले ‘चपली हाइट ३’को प्रदर्शनको समयमा यो विषय उठाउँदा कोही नबोलेको सम्झिन्छन्। दर्शकले आफ्नो रुचिले फिल्म हेर्ने र बढी विदेशी फिल्मप्रति निर्भर भएकाले यो अवस्था आएको उनको तर्क छ। उनी भन्छन्, ‘म एक्लै बोल्दा कोही बोलेन्। हामीले बनाएको फिल्म कतैबाट प्रभावित थिएन। तर, अहिले अरुबाट सिन ल्याएकाहरू आफ्नो फिल्मसँग अरु फिल्म जुध्नेमा कराइरहेका छन्। यस्तोमा नेपाली फिल्म खरतामा परिहाल्छ।’
उनी दर्शक र फिल्मकर्मीलाई उत्तिकै जिम्मेवार मान्छन्। एकातिर दर्शकमा नेपाली फिल्म हेर्नुपर्छ भन्ने बुझाई नभएको र फिल्मकर्मीहरूले आफ्नो कथाभन्दा बढी राष्ट्रवाद बेच्न खोज्दा यो अवस्था आएको बताउँछन्। भन्छन्, ‘नेपाली फिल्म पनि राम्रा छन्। तर, हल्ला गर्नेहरूका फिल्मले यी राम्रो फिल्महरूलाई छाँयामा पारेको छ। यसैको असर हो।’
बलियो र मौलिक सिनेमा नभएपछि खतरा
फिल्मकर्मी अविरल थापा भने नेपाली फिल्मलाई नेपाली चलचित्रबाटै खतरा भएको बताउँछन्। उनी नेपालमा बन्ने ९० प्रतिशत चलचित्रमा मौलिकता नभएको बताउँछन्। भन्छन्, ‘न अरुको जस्तो छ न हाम्रो जस्तो छ। त्यसो भएपछि दर्शक हलमा गएर हेरिरहनै परेन। जबसम्म हामीले आफ्नो मौलिक कथामा चलचित्र बनाउँदैनौं, तबसम्म दर्शकले मज्जा लिँदैनन्। किनकी दर्शकले हलिउड, बलिउड र दक्षिण भारतकै गज्जब चलचित्र विभिन्न माध्यमबाट हेर्न पाइरहेका छन्।’
उनी नेपाली सिनेमाको बाटो त्यो नभएकाले यहाँ स्तरीय सिनेमा बन्न नसक्ने र बजार निर्माण र विस्तार पनि गर्न नसकिने बताउँछन्। आफ्नो सिर्जना बलियो र मौलिक हुन नसकेपछि सबैबाट खतरा हुने बताउँछन् थापा।
‘जुन देशको चलचित्र विकास बोर्ड फिल्मको लेबी उठाएर चल्छ। त्यसले नेपाली चलचित्रको रक्षाका लागि के काम गर्छ?,’ उनी प्रश्न गर्छन्। विकास बोर्डले विदेशका घघडान सिनेमाको खुल्ला आयात र प्रदर्शनलाई रोक्नै नचाहने र सानोतिनो इच्छा शक्तिले त्यो रोक्ने हिम्मत कसैसँग नभएकाले यस्तो भएको उनी मान्छन्।
‘हलवाला भनेको व्यापारी हुन्। जे चलाए नाफा हुन्छ त्यो चलाउँछन्,’ उनी भन्छन्, ‘तर, वर्षमा यति वटा मात्र विदेशी सिनेमा ल्याउन पाउने र नेपाली चलचित्रका लागि यतिवटा शो चाहिँ एक हप्ताका लागि अनिवार्य छुट्याउन पर्ने भन्ने नीति ल्याउन सक्यो भने राम्रा नेपाली चलचित्र मारमा पर्ने थिएनन् र एक हप्तापछि पनि दर्शक गएनन् भने आफूले बनाएको चलचित्रमै दम रैनछ भनेर चित्त बुझाउने बाटो हुन्छ।’
थापा अरुको फिल्मबाट खतरा भयो भनेर रोइलो गरेर बस्नुभन्दा आफू बलियो र मौलिक सिनेमा बनाउनेमा लाग्नुपर्ने बताउँछन्। उनी ‘वाहियात’ बनेका चलचित्रहरू डुब्नुपर्ने मत राख्दै भन्छन्, ‘छेऊ न टुप्पोको सिनेमा बनाउन निर्माताहरू कसरी तयार हुन्छन्, छक्क पर्छु म त। सबैले पहिला आफ्नो अनुहार र नियत सफा बनाउने हो र सचेत भएर चलचित्रमा आउनुपर्छ। नत्र राम राम भन्नुको विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।