काठमाडौं- सरकारले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले 'अब त अति भो' अभियान चलाउने भएको छ।
गठबन्धन सरकारले देशलाई अँध्यारो मार्गतर्फ लागिरहेको भन्दै भण्डाफोर अभियान चलाउने भएको हो। अनेरास्ववियु अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै यस्तो अभियानमा साथ तथा समर्थन गर्न आम सचेत नागरिकलाई आह्वान गरेकी छन्।
विज्ञप्तिमा भनिएको छ, 'जनताको ढाड सेक्ने गरी एलपी ग्यास र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भइरहेको मूल्यवृद्धिले गरिव, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्टकर अवस्थामा पुगेको छ। कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको छ। सेटिङको माध्यमबाट ठेक्काहरु आफ्ना कार्यकर्ताहरुलाई दिने दलाली प्रवृत्ती दिन प्रतिदिन मौलाइरहेको छ।'
रेमिटेन्सको माध्यमले जेनतेन धानिरहेको मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न हुण्डिलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको बताइएको छ।
छिमेकी मुलुक भारतलाई प्रतियुनिट ४ रुपैयाँमा विद्युत विक्री गरि ३८ रुपैयाँमा पुनः खरिद गरि विद्युत प्राधिकरणले दक्षिणको दलाली गरिरहेको अनेरास्ववियुको आरोप छ।
बढ्दो महँगी र आर्थिक संकट समाधानका लागि सरकारले कदम नचालेमा आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।